समाजमा प्रायः रक्त–सम्बन्ध र वैवाहिक सम्बन्धको आधारमा नातागोताको निर्माण हुने गर्छ । यी दुईबाहेक अन्य तरिकाले पनि नातागोता र साइना–सम्बन्धहरू स्थापित गर्ने प्रचलन नेपाल र अन्य ठाउँमा छ । मित यस्तै प्रकारको साइनो गाँस्ने प्रचलन हो । आफ्नो वंश र गोत्रभन्दा बाहिर, एउटै उमेर समूहमा, महिला–महिलाबिच, पुरुष–पुरुषबिच दुई व्यक्ति औपचारिक विधि अनुष्ठान गरेर मित–मितिनी लगाउने गरिन्छ । दुई जना मित–मितिनी भएपछि एक–अर्काको परिवारको सदस्य पनि स्वतः नातामा गाँसिन्छन् । आफ्नो मित–मितिनीको परिवारका सदस्यलाई पनि आफ्नै आमा, बा, दिदीबहिनी, दाजुभाइ मानेर व्यवहार गर्नुपर्ने हुन्छ । यसरी पहिले नाता नभएको परिवारसँग मित परम्परामार्फत एउटै परिवारको नाता साइनो स्थापित हुन्छ lयही ‘मितेरी’ साइनोको कथा बोकेको ‘मितज्यू’ नाटक आज बाट युट्युब च्यानल मार्फत नाट्य प्रेमी दर्शकले हेर्न पाउने छन् l नाटक ७ वर्षअघि मण्डलामै मञ्चन भैसकेको हो l तर पुन : यो नाटकलाई अभिनेता दयाह्याङ राईले आफ्नै निर्देशनमा मञ्चन गर्न लागेका हुन् l
नाटक घरमै प्रदर्शन गर्ने तयारी रहेता पनि कोरोना महामारीले गर्दा नाटक अनामनगर स्थित मण्डला नाटक घरमा प्रदर्शनमा आउन सकेन l सोही कारण पनि नाटकलाई अनलाइन प्लेटफर्ममा प्रस्तुत गर्न लागिएको हो l मण्डला थिएटरको आधिकारिक युट्युब च्यानलमा साँझ ५ बजे नाटक रिलिज हुँदै छ ।यस नाटकमा बुद्धि तामाङ, विजय बराल, सृजना सुब्बा,अंकित खड्का, उमेश तामाङ, अनुप न्यौपाने लगायतको अभिनय रहेको छ l नाटक मार्फत नेपाली संस्कृतिमा रहेको मितेरी साइनोको अन्तरकुन्तरका कथा प्रस्तुत गरिएको छ। नाटकलाई सोमनाथ खनालले लेखेका हुन् भने उक्त नाटक दुई जना बृद्धाको ‘फ्लाशब्याक’ लाई समेटिएको कथामा आधारित छ।