प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक चेतन कार्कीका निधनमा दुःख व्यक्त गरेका छन् । ट्विट गर्दै गीतकार कार्कीप्रति श्रद्धा सुमन अर्पणका साथ शोक सन्तप्त परिवारजनप्रति समवेदना पनि प्रकट गरेका हुन् । कार्की गत आइतबार सदाका लागि संसारबाट बिदा भए l कोभिडका कारण ८३ वर्षको उमेरमा निधन भएका कार्कीको सबै गीतहरू कालजयी छन् l ‘नजाउन मलाई छोडी मुख मोडी दिल तोडी च्यान्टे मायालु’, ‘कान्छी ए कान्छी’, ‘बहिनीको दया छ भने, लगायतका दर्जनौँ चर्चित गीतहरू दर्शकलाई दिएका उनी प्रतिभाका धनी खोज तथा अनुसन्धान साहित्यमा पनि अब्बल मानिन्थे । उनले सन् १९८६ को ‘विश्वास’ नामक चलचित्रबाट निर्देशनमा डेब्यु गरेका थिए । त्यसपछि ‘भुमरी’, ‘मनको आँखा’ र ‘पहिलो प्रेम’ निर्देशन गरेका कार्कीले थुप्रै चलचित्रको लेखन गरे । उनले सिने क्षेत्रमा गरेको योगदानलाई सम्झँदै कयौँ कलाकर्मीहरू , निर्देशक साथै सिने क्षेत्रमा आबद्ध रहेका व्यक्तित्वहरूले सामाजिक सन्जाल मार्फत उनको निधनमा दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् l