कोरोनाभाइरस सङ्क्रमण दर तीव्र गतिमा फैलिरहँदा राजधानी काठमाण्डू लगायत देशका विभिन्न भागका अस्पतालहरूमा अक्सिजनको सङ्कट झन् झन् गहिरिँदै गएको छ। अक्सिजनको सङ्कट गहिरिएपछि हालै मात्र झन्डै एक दर्जन विभिन्न अस्पतालहरूले थप बिरामीहरूलाई सेवा दिन नसक्ने अवस्था सार्वजनिक गरेका विवरण आएका छन्। अक्सिजनको अभावमा कति कोरोनाका बिरामीले ज्यान गुमाउनु परेको छ । यस्तो अवस्थामा नेपाली फिल्मकर्मीहरूले अक्सिजन जुटाउनदेखि कोरोनाले समस्यामा परेका व्यक्तिहरूलाई खाद्यान्न लगायतका सहयोग गर्दै आएका छन् । यस् समयमा अभिनेत्री श्वेता खड्काले पनि सहयोग गर्नमा कुनै कन्जुस्याइँ गरेकी छैनन् l उनले भोका व्यक्तिहरूलाई निःशुल्क खाना वितरण गर्ने अभियानमा पनि आर्थिक सहयोग गरेकी छन् । शनिवार निःशुल्क खाना वितरण गर्न उनले सामाजिक कार्यमा सक्रिय संस्था हाम्रो टिम नेपाललाई ३० हजार नगद सहयोग गरेकी हुन् ।
श्वेताले सामाजिक क्षेत्रलाई अभिनयले नभई मनले जोडेर राख्न चाहने बताएकी छन् । उनले शनिवार फेसबुकमा लेखेकी छन्, ‘हो, मेरो अभिनयको क्षेत्र भिन्नै छ । जहाँ म नचाहेर पनि हाँस्नु पर्छ, मन नलागी नलागी रुनु पर्छ । थाकेको हुन्छु, नाच्नु पर्छ । मौन बस्ने मन हुँदा हुँदै, गुनगुनाएको जस्तो गर्नु पर्छ । त्यो सिनेमाको एउटा पाटो हो । तर सामाजिक कामको जिम्मेवारी अर्कै छ । जहाँ अभिनयभन्दा पनि वास्तविक जीवनको भोगाइमा समाहित भइन्छ ।’वास्तविक जीवनमा अर्काको दुःख आफ्नै लागेर रोइने र अर्काको सुखमा रमाउने गरेको उनले उल्लेख गरेकी छन् । उनी अगाडि लेख्छिन्, ‘जहाँ मन जोडिन्छ नि हजुर, त्यहाँ भावना मिल्छ । म, मेरो सामाजिक क्षेत्रलाई मनले जोडेर राख्न चाहन्छु, अभिनयले होइन । मेरो क्षमता, गक्षता र शिपले जे भ्याउँछ त्यही प्रयोग गर्दै मनबाट नै सामाजिक सेवाको क्षेत्रमा होमिने छु । मेरो जिन्दगी रहेसम्म म समाजप्रतिको जिम्मेवारी भुल्ने छैन । यो मेरो प्रण हो ।’ गत महिना पनि श्वेता र उनका पती विजयन्द्र राउतले अक्सिजन खरिद गर्नका लागि ५० हजार आर्थिक सहयोग गरेका थिए l