हास्य कलाकार मदनकृष्ण श्रेष्ठ कोरोना संक्रमण मुक्त भएका छन् । दोस्रो पटक कोरोना पोजेटिभ देखिएका श्रेष्ठ रोगलाई जितेर घर फर्किएका छन् l १४ दीनको अस्पताल बसाइ पछी कोरोना नेगेटिभ लिएर गत सोमबार आफु घर फर्किएको उनले सामाजिक सन्जाल मार्फत जानकारी गराएका हुन् l सबैको आर्शिवाद र मायाको बलले कोरोना जित्न सफल भएको उनले बताएका छन् । मदनकृष्णले लेखेका छन्, ‘कोरोनाले मलाई पछार्न त नराम्रोसँग पछार्यो । पछार्यो मात्र हैन अझ लछार्यो र हस्पिटलमा लगेर बेस्कन बजार्यो, फर्कायो, फर्कायो, थर्काउनु थर्कायो बेला बेलामा तर्सायो पनि । बलियो रहेछ बजिया । तर सबैको माया, शुभेक्षा, प्रार्थना, र आर्शिवादले गर्दा मलाई त्यसले जित्न भने सकेन ।’ उनले शरीरमा अलिअलि शिथिलता बाँकी नै रहेको बताएका छन् । साथै उनले उनले ठट्यौली शैलीमा अगाडि लेखेका छन्, ‘कोरोनाले यो मदनकृष्ण श्रेष्ठ भन्ने मान्छेलाई पार्केसन छ, प्रोष्टेट, प्रेशर, मुटुको समस्या छ, कन्स्टीपेशनको पनि समस्या छ र यसलाई त मज्जाले चपाउन सकिन्छ भनेर मलाई झम्टिन आएको होला सायद । यहाँहरु जस्तो मलाई औधी माया गर्नुहुने लाखौँ लाख शुभेक्षकहरु मेरै साथमा हुनुहुन्छ भन्ने कुरा त्यो मोरा कोरोनालाई के थाहा ।’ पहिलो पटक ८ दिन अस्पतालमा उपचारपछि घर फर्किएका उनी त्यसको केही दिनमै अक्सिजनको लेभल कम भएपछि पुनः मेडिसिटी हस्पिटलमा भर्ना भएका थिए ।