नायिका निशा अधिकारीले आफू विरुद्ध समाचार लेख्ने सञ्चारमाध्यमलाई कारबाही गर्न प्रेस काउन्सिलमा उजुरी दर्ता गरेकी छन् ।

निशाले साउन २० गते विभिन्न समाचार माध्यममा आफ्नो व्यक्तिगत जीवनबारे समाचार आएकाले चरित्रहत्या भएको दाबीसहित त्यस्ता मिडिया र समाचार लेख्ने पत्रकारलाई कारबाही गर्न उजुरी दर्ता गराएकी हुन् ।

२०७४ असार २१ गते ‘जनआस्था’ साप्ताहिकबाट साभार गरिएको भन्दै ‘नायिका निशा अधिकारीले विवाह गरेपछि पूर्वप्रेमी दावा स्टेभेन शेर्पाले भने, अब मेरो गाडी फिर्ता देऊ’ भन्ने शीर्षक दिएर आफ्नो बारेमा झुटा समाचार तस्बिरसहित प्रकाशन गरेर व्यक्तिगत मानमर्यादा, इज्जत प्रतिष्ठामा आँच पुर्‍याउने कार्य गरिएकाले समाचारको खण्डन गर्न र गल्ती सच्याउन भन्दै काउन्सिलमा उजुरी हालेकी छन् ।

निशा अधिकारीसम्बन्धी ‘जनआस्था’ को सो समाचार असार २१ गते सिनेपाटी डट कम मा पत्रपत्रिका स्तम्भअन्तर्गत साभार गरी प्रकाशन गरिएको थियो । जुन समाचारमा सिनेपाटी डट कमको कुनै स्रोत उल्लेख गरिएको छैन ।