चलचित्र बिकास बोर्डले अस्कर जित्ने फिल्मलाई ८ लाख दिने बोर्डको घोषणा गरेको छ l  बिहीवार बोर्डले २१औं वार्षिकोत्सवको अवसरमा ‘ट्राभल ग्रान्ट’ को अवधारणा लागू भएको जानकारी दिँदै अस्कारमा छनौट भए २ लाख र नोमिनेशन वा अवार्ड नै जिते ८ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो । बोर्डले, कान्स, भेनिस, लोकार्नो, बर्लिन, टोरन्टो, सनडान्स, रोटेरडम जस्ता फेस्टिभलमा छनोट हुन सफल फिचर चलचित्रलाई २ लाख ५० हजार र छोटो चलचित्रलाई १ लाख रुपैयाँ प्राप्त गर्ने बोर्डले जनाएको छ। अर्थ मन्त्रालयबाट कार्यविधि पास भएसँगै ‘ट्राभल ग्रान्ट’ को अवधारणा लागू भएको हो । साथै चलचित्र विकास बोर्डले ‘स्क्रिप्ट डेभलपमेन्ट वा प्रोजेक्ट मार्केट’ जस्ता विश्वकै प्रतिष्ठित ल्याबमा जाने चलचित्रलाई ५० हजारदेखि ३ लाखसम्म ‘ट्राभल ग्रान्ट’ उपलब्ध गराउने छ । यस्तै, यी चलचित्रका चलचित्रकर्मीलाई बसोबास तथा नेटवर्किङका लागि २५ हजारदेखि २ लाखसम्म बोर्डले उपलब्ध गराउने बिकास बोर्डका अध्यक्ष दयाराम दाहालले जानकारी दिएका छन् l यस्तै, गोल्डेन अवार्ड, एसिया प्यासिफिक स्क्रिन अवार्ड र एसियन चलचित्र अवार्डमा छनोट भएर स्क्रिनिङ भए १ लाख र बिजेता बने १ लाख ५० हजारदेखि २ लाखसम्म प्रोत्साहन रकम प्रदान गर्ने बोर्डले बताएको छ ।आर्थिक वर्ष ०७८/७९ को बजेटमा सरकारले स्टोरी बैंकको अवधारणलाई अगाडि बढाउने निर्णय गरेको थियो । यसका लागि चलचित्र विकास बोर्डले चाडै नै स्क्रिप्टको आह्वान समेत गर्नेछ ।