नेपाली सांगीतिक क्षेत्रले सदाबहार सम्झी रहने नाम हो गायक तथा संगीतकार स्वर्गीय अरुण थापा। कालजयी गीत गाएर दर्शकको मन मुटुमा बस्न सफल थापाले संगीत क्षेत्रमा अतुलनीय योगदान दिएर २२ वर्ष अघि आफ्नो प्राण त्याग गरेका थिए l "ऋतुहरूमा तिमी हरियाली वसन्त हौँ" "भुलु भुलु लाग्यो मलाइ सपनीमा" लगायत दर्जनौँ गीतहरूको सर्जक तथा गायक थापालाई २२ औ पुण्य तिथिको दिन भक्तपुर सांगीतिक समाजले उनकै गीत संगीत मार्फत सम्झना गरेका छन् l गत मंगलबार भक्तपुरको दुधपाटीस्थित "दि टिसा इन" मा सांगीतिक कार्यक्रम आयोजना गर्दै उनको स्मृति सँग जोडिएका विविध पक्षहरूबारे समेत बिचार आदानप्रदान गरी भावपूर्ण सांगीतिक श्रद्धाञ्जली अर्पण गरिएको थियो l कार्यक्रममा गायक शम्भोचरण राजभण्डारीले भजन "तिमी राम राम भजि बाँच" सत्य नारायण प्रजापतिले थापाको अत्यन्त चर्चित गीत "चोट के हो व्यथा के को" कपिल कसपालले "ऋतुहरूमा तिमी हरियाली वसन्त हौँ' र बिजेन्द्र चवालले "भुलु भुलु लाग्यो मलाइ सपनीमा" गाउँदै माहौल तताएका थिए lत्यसै गरी गायक कुबेर राईले अरुण थापाको अर्को "ट्रेडमार्क" गीत "जति माया लाए पनि जति कसम खाए पनि" श्रीजल मधिकर्मीले "आँखाको निंद चोरी लाने" र सुनिल लोहलाले "लाग्न थाल्यो जीवनमा मेरो कथा यस्तो, फक्रिएर वसन्तमा झर्ने फूलजस्तो’ गीत प्रस्तुत गरी थापाको स्मृतिमा समर्पण गरेका थिए l भक्तपुर सांगीतिक समाजका अध्यक्ष एवं गायक प्रवीण शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव अल्बर्ट बज्राचार्यले स्वागत मन्तव्य राखेका थिए l साथै, कार्यक्रमको सञ्चालन किरण सुवालले गरेका थिए । कार्यक्रममा अतिथिको रूपमा वरिष्ठ गीतकार सुवास चन्द्र ढुंगेल र रोशनकुमार राजभण्डारी रहनुभएको थियो l ।