कोरोना भाइरस जोखिमका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र चलचित्र क्षेत्र हो । लकडाउन खुलेसँगै अरू क्षेत्र केही रूपमा क्रियाशील भए पनि चलचित्र क्षेत्रले भने थलिएको जिउलाई तङ्ग्राउन पाएको पनि छैन l दर्शकको साथ आवश्यक रहेको क्षेत्र भएका कारण पनि यो क्षेत्र सबैभन्दा अगाडि बन्द भएको थियो भने सबैभन्दा पछाडि मात्रै खुल्नेछ । सरकारले चलचित्र क्षेत्रलगायत केही क्षेत्र खुल्नेबारे कुनै औपचारिक निर्णय गरेको छैन । औपचारिक निर्णय नभइन्जेल सम्म सरकारको विपरीत गएर हल खुल्ने सम्भबनै छैन l यसै कारण पनि अहिले दर्शकले ओटिटी प्लेटफर्म मार्फत फिल्म खोजी खोजी हेरी रहेका छन् l भलै, दर्शकले अहिले नेपाली फिल्म ओटिटीमा खोजी खोजी नहेर्लान् तर यसरी नै कोरोनाले आफ्नो उग्र रूप लिने हो भने दर्शकले पनि नेपाली फिल्म हेर्न ओटिटी नै रोज्नु बाहेक अन्य कुनै उपाय छैन l त्यसैले अब नेपाली फिल्मकर्मीले फरक स्वाद पस्कन कडा मिहिनेत गर्नुपर्ने कलाकार प्रवीण खतिवडा बताउँछन् । सोमवार आफू अभिनीत तथा निर्देशित म्युजिक भिडियो ‘फर्कन छोरा’ बोलको गीतको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो अभिव्यक्ति दिएका हुन् l लकडाउनको समयमा विश्वका फिल्म हेरेर बाठा भएका दर्शकका लागि अब बाठै फिल्म बनाउनु पर्ने उनको भनाइ छ l यो कोरोनाले फिल्मकर्मीहरूलाई मेहनत गर्न दिएको समय हो l स्क्रिप्ट लगायतका पाटोमा गहिरिएर काम गर्न पाएनौँ भन्न अब छुट छैन । हामी अपग्रेड हुनै पर्छ ।’ स्थिति सामान्य भएपछि पुरानो ढर्रामा फिल्म बनाउने क्रम रोकिने उनको विश्वास छ । फिल्म रिलिजका लागि अब हल मात्र विकल्प नरहेकाले फिल्मकर्मीले वैकल्पिक बाटोमा सोच्नुपर्ने उनले बताए । उनी नेपालमा ओटीटी प्लेटफर्मको विकास हुन जरुरी देख्छन्