गायक दुर्गेश थापालाई ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान’ले संस्थागत रूपमा बहिष्कार गर्ने भएको छ l हालै दुर्गेशले गाएको गीत ‘बीच्च बीच्चमा ४’ लाई प्रतिष्ठानले हटाउनु पर्ने माग गर्दा पनि उक्त कुरालाई बेवास्ता गरेको भन्दै दुर्गेशलाई संस्था बाट आजीवन बहिष्कार गर्ने निर्णय लिएको हो l चौतर्फी रूपमा गीतको आलोचना भए पछि सो गीत हटाउनु पर्ने माग आएको थियो l उक्त गीतले तीजको मर्ममाथि प्रहार गरेको गुनासो दर्शक बाट आयपछि दोहोरी गीत प्रतिष्ठानले साउन ७ गते दुर्गेशलाई ध्यानाकर्षण पत्र नै काटेको थियो । प्रतिष्ठानका एक पदाधिकारीले ‘हामीले उहाँलाई पत्र काटेरै ध्यानाकर्षण गराएका थियौँ । तर उहाँले, प्रतिष्ठानको केही मतलब छैन । म आफ्नो तरिकाले अगाडि बढ्ने हो भन्ने खालको जवाफ दिनुभयो’ ‘आइतबारको बैठकमा हामी उहाँलाई संस्थागत रूपमा संस्थाका कुनै पनि कार्यक्रममा समावेश नगर्ने, आजीवन साधारण सदस्य पनि नरहने गरेर बहिष्कार गर्ने निर्णय गर्दैछौं ।’ भनेर बताएका छन् l साथै प्रतिष्ठानका पदाधिकारीहरू राज्यले नै खुला छोडिदिएको हुनाले आफूहरूले नियन्त्रण गर्न नसक्ने धारणा राख्छन् । सरकारी तवरबाटै यस्ता गीत ल्याउनेलाई कारबाही हुनुपर्ने प्रतिष्ठानको धारणा छ । ती पदाधिकारीले भने, ‘हामीले नैतिक रूपमा भन्ने हो । अनुरोध गर्ने हो । नमानेर कोही नाङ्गै हिँड्छ भने हामीले गर्ने के ?सार्वजनिक भएकै दिन बाट यस गीतमा दर्शकको नकारात्मक प्रतिकृयाको बाढी नै आएको छ l कतिपयले भने यस्ता गीत सार्वजनिक हुँदा ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान’ले के हेरेर बसेको छ ? भनेर समेत प्रश्न गरेका छन् । प्रतिष्ठानले भने आफूहरूले त्यस्ता गीत नल्याउन आग्रह गर्ने, आग्रहलाई बेवास्ता गरे संस्थागत रूपमा बहिस्कार गर्ने बताउँदै आएको छ ।