टेलिभिजन रियालिटी शो ‘हिमालय रोडिज’को चौथो संस्करणको घोषणा भएको छ l काठमान्डौ स्थित र्याडिसन होटेलमा पत्रकार सम्मेलन गर्दै ‘हिमालय रोडिज’को चौथो संस्करण हुने जानकारी गराइएको हो । यस पटक पनि तेश्रो संस्करणकै जजहरूको उपस्थिति रहने छ  l  अनुप विक्रम शाही, समन श्रेष्ठ, दिया मास्के, आशिष् राना लाहुरे ।  होस्टको रुपमा रेमनदास श्रेष्ठ प्रस्तुत हुनेछन् । तर यस पटक भने रोडिजको अडिसन अन्य संस्करणको भन्दा फरक रहने बताइएको छ l कोरोनाका कारण अडिसनलाई भर्चुअली रूपमा गर्ने आयोजकहरूको भनाइ छ l चौथो सिजनको नारा ‘सिजन अफ सर्भाइभल’ राखिएको छ । एन्ड्रोइड अपरेटिङ सिस्टम रहेको मोबाइलबाट एप डाउनलोड गरी अडिसन फर्म भर्न सकिने भएको छ ।यस पटकको सिजनलाई फिल्म निर्देशक समेत रहेका सिमोस सुनुवारले निर्देशन गर्ने भएका छन् । यसअघिका तीन सिजनलाई अमन प्रताप अधिकारीले निर्देशन गरेका थिए । डिजिटल अडिसनको समय दुई साता राखिएको छ l त्यसपछि फिजिकल अडिसन बोलाउने तयारी छ । असोजको पहिलो साताबाट कार्यक्रम प्रसारण हुने जनाइएको छ । ‘हिमालय रोडिज’ चर्चित भारतीय कार्यक्रम ‘एमटिभि रोडिज’को नेपाली संस्करण हो । कार्यक्रम हिमालय टेलिभिजन तथा रोडिजको युट्युब च्यानलबाट पहिलो संस्करण देखी नै प्रसारण हुँदै आइरहेको छ  । रोडिजको तेश्रो सिजनका विजेता सुजन सुवेदी रहेका थिए l