नयाँ भेरिअन्ट सहित लगातार फैलिएको कोरोना महामारीले विश्वको अर्थतन्त्रलाई ठुलो धक्का दिएको छ । यसबाट नेपाल अछुतो रहन सक्ने कुरा भएन । नेपालको अर्थतन्त्रलाई समेत कोरोना महामारीले नराम्ररी थला पारिदिएको छ । धेरैका पेसा व्यवसाय बन्द भएका छन् । जसका कारण केहीले आफूले गर्दै आएको पेसा व्यवसायलाई छोडेर विकल्पको खोजी गर्दै छन् । केही भने अवस्था सामान्य हुने आशामा प्रतीक्षारत छन् । केही व्यवसाय तथा पेसा गर्नेहरू कोरोनाको महामारीसँग जुधेरै भए पनि कर्ममा अगाडि बढ्न खोजिरहेका छन् । आम्दानीको श्रोत गुम्दा भने अधिकांश चिन्तित छन् । नेपालमा कोरोना कहरका कारण समस्यामा परेको एउटा क्षेत्र हो फिल्मी क्षेत्र । अन्य व्यापार व्यवसायहरू खोली सक्दा पनि यस क्षेत्रको भने अझै टुङ्गो छैन l सिनेकर्मीहरुले बारम्बार सरकार समक्ष पत्र बुझाउँदा पनि आश्वासन बाहेक अरू केही पाएको छैनन् l
यति बेला फिल्मकर्मीदेखि दर्शकसम्मको चासो फिल्म क्षेत्र कहिले खुल्छ भन्नेमा छ । मनमा प्रश्नै प्रश्न खडा भइरहेको छ l तर यसको उत्तर भने के हो के हो ?कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) हालै मनोरञ्जन क्षेत्रलाई समेट्दै पत्र निकालेको छ l जसमा लेखिएको छ l कोरोना संक्रमण दर १५ प्रतिशतभन्दा तल झरेपछि स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गर्दै सिनेमा हल, फन पार्क, मेला लगायतका मनोरञ्जन क्षेत्र खोल्न सकिने छ l संक्रमणको अवस्था हेरेर मुलुकलाई रेड, एम्बर, येल्लो र ग्रीन जोनमा विभाजन गर्दै (सीसीएमसी)ले उक्त पत्र निकालेको हो l रेड, एम्बर र येल्लो जोनमा मनोरञ्जन क्षेत्रका गतिविधि भर्चुअलको माध्यमबाट मात्र गर्न दिइनेछ भने हरियो जोनमा पुगेपछि फिल्म क्षेत्रले सञ्चालनको अनुमति पाउनेछ ।