चर्चित सांगीतिक रियालिटी शो ‘नेपाल आइडल सिजन–४’ मा यस पाली नयाँ निर्णायकहरुको आगमन भएको छ l सुगम पोख्रेल, शम्भुजित बास्कोटा र शुभानी मोक्तान यस पाली निर्णायकको रूपमा नेपाल आइडलमा भित्रीएका हुन् l शोका टिमहरूले तस्विर राख्दै यी जजहरू भएको भन्दै सामाजिक सञ्जाल मार्फत जानकारी गराएका हुन् l त्यसै गरी यस पाली होस्टको रूपमा असिफ शाहलाई मोडेल रेश्मा घिमिरेले साथ दिँदै छिन् l सीजन-३ सम्मका निर्णायक न्ह्यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी अर्कै रियालिटी शोमा आवद्ध भएपछि व्यवस्थापन समितिले नेपाल आइडल सीजन-४ का लागि नयाँ निर्णायक टीम चयन गरेको हो । निर्देशक सुरेश पौडेलले शोको निर्देशन गर्दै छन् l फ्रेन्चाइज गायन रियालिटी शो रहेको 'आइडल' पहिलो सिजनबाट नै चर्चामा आउनुका साथै यस रियालिटी शो-लाई दर्शकले अत्यधिक रुचाएका थिए l शोबाट केही गायक/गायिकाको उदय पनि भयो । ‘नेपाल आइडल’ एपिवान टेलिभिजनबाट प्रसारण हुँदै आएको छ ।