जनगायक तथा सभासद् जेबी टुहुरे यती बेला अस्पतालमा उपचार गराइ रहेका छन् l बल्खुस्थित बयोधा अस्पतालमा टुहुरेलाई सीसीयू कक्षमा भर्ना गरिएको छ l उनको उपचारमा डा. सामर्थ सिंह, डा. विश्वकुमार श्रेष्ठ, डा. पावनवहादुर भण्डारी, डा. प्रकाश श्रेष्ठको चिकित्सक टोली संलग्न छन् । गत मंगलबार काठमाडौँको कलंकीमा अवस्थित निजी निवासमा एक्कासि लडेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घ रोगी समेत रहेका ७८ वर्षीय टुहुरेलाई शल्यक्रिया गर्न जोखिमपूर्ण रहेकाले औषधीको माध्यमबाट उपचार जारी राखिएको उपचारमा संलग्न वरिष्ठ न्यूरोलोजिस्ट डा. सामर्थ सिंहले बताएका छन् l तर पनि उनको स्वास्थ्यमा भने केही सुधार आएको छैन l यती बेला उनी आर्थिक समस्या बाट पनि गुज्री रहेका छन् l उनलाई भेट्न वरिष्ठ नेता प्रचण्ड, महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री जनार्दन शर्मा, काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्व मन्त्री कृष्णगोपाल श्रेष्ठलगायत अस्पताल पुगेका थिए । नेताहरूले सहयोग गर्ने आश्वासन दिए पनि उपचारका लागि आर्थिक अभाव भएको उनको परिवार स्रोतले बताएका हुन् l टुहुरे दोस्रो संविधानसभामा तत्कालीन एनेकपा माओवादीबाट समानुपातिक सभासद्समेत हुन् । २० को दशकदेखि सांगीतिक क्षेत्रमा प्रवेश गरेका टुहुरेले १ सय ५० भन्दा बढी जन पक्षीय गीत रेकर्ड गराएका छन् । ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैँ प्यासी बनेर’ बोलको गीत उनको बहुचर्चित गीत हो ।