जनगायक तथा सभासद् जेबी टुहुरेको निधन भएको छ l  बल्खुस्थित बयोधा अस्पतालमा  सीसीयू कक्षमा उपचार गराइरहेका टुहुरेको आज निधन भएको हो l उनको उपचारमा डा. सामर्थ सिंह, डा. विश्वकुमार श्रेष्ठ, डा. पावनवहादुर भण्डारी, डा. प्रकाश श्रेष्ठको चिकित्सक टोली संलग्न थिए । संविधानसभा सदस्य समेत रहेका टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि दिउँसो साढे १ बजेदेखि २ बजेसम्म पार्टी कार्यालय पेरिस डाँडामा राखिने छ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ । गत मंगलबार काठमाडौँको कलंकीमा अवस्थित निजी निवासमा एक्कासि लडेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घ रोगी समेत रहेका ७८ वर्षीय टुहुरेलाई शल्यक्रिया गर्न जोखिमपूर्ण रहेकाले औषधीको माध्यमबाट उपचार गराइ रहेका थिए l  २० को दशकदेखि सांगीतिक क्षेत्रमा प्रवेश गरेका टुहुरेले १ सय ५० भन्दा बढी जन पक्षीय गीत रेकर्ड गराएका छन् । ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैँ प्यासी बनेर’ बोलको गीत उनको बहुचर्चित गीत हो ।