कलाकार धुर्मुस्-सुन्तलीको पहलमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अन्योलमा बनेको छ l आर्थिक अभावका कारण काम बिचमै रोकिने जोखिम बढेको हो l दैनिक ३१३ जनासम्म जनशक्तिले काम गर्दै आएको रङ्गशालामा हाल दैनिक ३०‌–३५ जनाले मात्रै काम गरी रहेका छन् l ती कामदार पनि नियमित रूपमा काममा अहिले उपस्थित छैनन्  l रङ्गशाला बाइस बिघा १६ कट्ठा पाँच धुर जग्गामा निर्माण गरिँदै छ। विस्तृत परियोजना प्रतिवेदनमा एक लाख ५४ हजार पाँच सय ६ वर्ग मिटरमा रंगशाला निर्माण गर्ने र त्यसभित्र ३० हजार मानिस बसेर खेल अवलोकन गर्न सक्ने जनाइएको छ। हाल रङ्गशाला निर्माण खर्चमा ५३ करोड बराबरको लागत लागेको छ l साथै १६ करोडभन्दा बढी रिणमा रहेको लेखा प्रमुख मुक्ति तिमिल्सिनाको भनाइ छ l गत वर्षको साउन १ गतेबाट एक वर्षको अवधिमा ३५ प्रतिशत काम भएको थियो l तर आर्थिक अभावका कारण अहिले काममा ढिलासुस्ती भएको छ l हाल रङ्गशालाको भुईँ र प्यारा फिटको फिनिसिङको काम भइरहेको छ। बजेट भएको भए ढलानको काम अघि बढ्ने कट्टेलले बताए। विगत केही समययता काठमाडौँमा आर्थिक सहयोग जुटाउन आफू लागिपरेको पनि उनले जानकारी दिए। यसका लागि अर्थमन्त्री, खेलकुद मन्त्रालय लगायतका निकायमा आर्थिक सहयोग जुटाइदिन आफूले पहल गरिरहेको उनले बताए। साथै भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पनि आफूले सक्दो सहयोग गर्ने आश्वासन धुर्मुस-सुन्तलीलाई  दिएकी छन् l रकम जुटेमा आउँदो एक वर्षमा रङ्गशाला सम्पन्न हुने कट्टेलको दाबी छ ।