अभिनेता आमेश भण्डारीले दिवङ्गत पिताको सम्झनामा गीत सार्वजनिक पारेका छन् । मङ्गलवार बुबाको मुख हेर्ने दिनको अवसर पारेर उनले ‘बाबा’ बोलको गीत सार्वजनिक गरेका हुन् । गीतमा आमेशकै स्वर, शब्द र सङ्गीत रहेको छ । भिडियोमा उनी आँफै फिचर छन् भने उनको पिताको भूमिका शोभित बस्नेतले निभाएका छन् । त्यस्तै, आमेशको बाल्यकालको भूमिकामा अवश्य भण्डारी फिचर छन् ।
सुरेश न्यौपानेको कन्सेप्ट र निर्देशन रहेको भिडियोलाई सङ्कल्प भुजेलले खिचेका हुन् । दिन्सन शाहको सम्पादन र कलर, करिश्मा केसीको आर्ट डिरेक्सन, केवल मान सिंह बस्नेत प्रोडक्सन म्यानेजर रहेको गीतको भिडियोका क्रियटिभ हेड सलोन बस्नेत हुन् ।
यसै वर्ष आमेशका पिताको निधन भएको थियो । उनी पिताकै साथ, हौसला र प्रेरणाले फिल्म क्षेत्रमा आएका थिए । पितासँग उनको साथीको जस्तो सम्बन्ध थियो । पिताको निधनपछि विक्षिप्त भएका आमेश लामो समय आँशुमा डुबेका थिए । गीतको भिडियोमार्फत उनले पिताले आफूलाई गर्ने प्रेम देखाएका छन् । गीतका शब्द निकै मर्मस्पर्शी छन् ।