शब्द रचनाकार ज्योति गुरुङलाई छायांछबि तिज अवार्ड बाट सम्मान गरिएको छ । बेलायतकी ज्योतिलाई काठ्मान्डौमा आयोजित छायांछबि तिज म्यूज़िक अवार्डमा` परदेशी छोरी´ बोलको गीत बाट अवार्ड प्रदान गरिएको हो । म्यूज़िक अवार्डमा उक्त गीतले उत्कृष्ट तीज गीत शब्दको अवार्ड जितेको हो । ज्योतिले लेखेको यो तेस्रो गीत हो । यस अघि यो कस्तो माया र मुटुको टुक्रा गीत बजारमा ल्याएकी थिइन् । सो अवार्डले आफूलाई झनै प्रेरणा मिलेको कुरा ज्योतिले बताइन्-‘ परदेशको बसाईमा नेपाली संस्कृति र चाडबाड ज्यादै मिस हुन्छ । मातृभूमिको सम्झना र आफ्ना भोगाइहरूलाई गीतको शब्दमा उतारेको हुँ । सबैको माया र साथले गर्दा अवार्ड पनि जितायो । यो गीतमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा साथ र हात दिनु हुने सबैमा हार्दिक आभार प्रकट गर्दछु -‘ बेलायतबाट ज्योतिले भनिन् । सुनिता दुलालले स्वर दिएकी छिन । गीतको भिडियो बेलायतमा नै कुशल श्रेष्ठले तयार पारेका हुन । सुरज लामिछानेको सङ्गीत रहेको गीतको भिडियोमा सरू रानाको नृत्य निर्देशन रहेको छ ।