हरेक शुक्रबार नयाँ चलचित्र रिलिज हुनु नौलो होइन् । त्यसमा पनि हरेक हप्ता चलचित्र जुध्ने गर्दछ् । यस साता पनि चार नेपाली चलचित्र एकसाथ प्रदर्शन आएका छन् । हरितालिका तिजको अवसरमा यो साता चार चलचित्रहरु प्रदर्शनमा आएका हुन् ।जसमा एउटै कथाबस्तु भएको चलचित्र देश खोज्दै जाँदा, हामी शरणार्थी छन् भने फरक कथा बस्तुमा बनेका हामी स्काउट र धुम २ रहेका छन् ।
चलचित्र देश खोज्दै जाँदालाई प्रकाश आङदेम्बेले निर्देशन गरेका हुन् । जसमा भुटानी शरणार्थीको जीवन भोगाइलाई देखाइएको छ । चलचित्रमा भुटानी शरणार्थीले आफ्नो देश फर्किन गरिएको आन्दोलनलाई देखाइएको छ । चलचित्रमा बाबु बोगटी, अरुणा कार्की, हेमन्त बुढाथोकी, मिना कोइराला, तिब्बत राई, ओवेत साम्पाङ राई, सरीता ओली, शिवशंकर थापालगायतका कलाकारको अभिनय रहेको छ ।
यता हामी शरणार्थीको कथा पनि भुटानी शरणर्थीको कथामा आधारित रहेको छ । चलचित्रलाई विजय लिम्बु केरुङले निर्देशन गरेका हुन भने नायिका शिल्पा पोखरेलको मुख्य भुमिका रहेको छ । जहाँ उनी दुई सन्तानकी आमा र एक बोल्ड पात्रको रुपमा देखिएकी छिन्। फिल्ममा शिल्पासँगै जीवन भट्टराई, प्रतिमा रसाईली, नयन घिमिरे, विक्रम श्रेष्ठ, प्रमिला उप्रेती, बालदीप राई र दिलीप योङहाङलगायतको कलाकारको अभिनय रहेको छ ।
बिहिबार नै जयकिशन बस्नेतको निर्देशन, निर्माण, लेखन एवंम मुख्य भुमिका रहेको चलचित्र धुम २ प्रदर्शनमा आएको छ । कमेडी जनरामा बनेको चलचित्रमा जय किशन बस्नेत, सिर्जना भट्टराई, रोहित रुम्बा, संजोग कोइराला, महिमा सिलवाल, शोभित बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ ।
नेपाल स्काउटको कथा बस्तुमा आधारित रहेको चलचित्र स्काउट पनि आजबाट प्रदर्शनमा आउदै छ । चलचित्रमा गरिमा पन्त, नवराज श्रेष्ठ, कुशल थापा, मधुकुमार श्रेष्ठ, संजय श्रेष्ठ, रक्षा श्रेष्ठको अभिनय रहेको छ । चलचित्रलाई मधुकुमार श्रेष्ठले प्रस्तुती रहेको चलचित्रलाई गोविन्द गौतमले निर्देशन गरेका हुन् ।