पछिल्लो समय नेपाली म्युजिक भिडियोहरू देश बाहिरका रमणीय स्थानहरूमा पनि छायाङ्कन हुन थालेका छन् । बेलायत, अमेरिकालगायतका देशहरूमा धमाधम म्युजिक भिडियोहरू छायाङ्कन भइरहेका बेला गायक तथा सङ्गीतकार तुला पर्वतले मकाउमा छायाङ्कन गरेका भिडियो सार्वजनिक गरेका छन् । 

मकाउका पर्यटकीय र रमाइला स्थलहरूमा छायाङ्कन गरिएको भिडियोले प्रेम, रोमान्स र विरहलाई नजिकबाट केलाएको छ । गीतकार झकेन्द्र शर्माको ‘तिम्ले माया मारेर’ गीतको भिडियो सार्वजनिक भएको हो । 

हाल अमेरिकामा बसोबास गर्दै आएका गीतकार शर्मा राम्रो सम्भावना बोकेका गीतकार हुन् । आफूलाई भन्दा बढी माया गरेको प्रेमिकालाई सारा कुरा सुम्पिँदा उसले दिएको बिछोडको पीडा सहन बाध्य प्रेमीले भागेको विरहको गाथालाई गायक पर्वतले गज्जबसँग भिडियोमा देखाइएको छ । गायक पर्वतको आफ्नै निर्देशन रहेको गीतमा रमेश अधिकारी, श्रीराम पोखरेल र सुनिता अधिकारीको अभिनय रहेको छ । तुला पर्वतकै सङ्गीत रहेको भिडियोमा उनकै छायाङ्कन तथा सम्पादन रहेको छ ।