चलचित्र निर्माता संघले बाढीपीडितलाई राहत बाँडेको छ । संघले सर्लाहीका ६० भन्दा बढी बाढीपीडितलाई राहत बाँडेको हो । संघका उपाध्यक्ष माधव वाग्लेको नेतृत्वमा गएको टोलीले सर्लाहीका हरिवन, अत्रौली, रञ्जितपुर, जरुवा पानी, गोल्हा, लालबन्दी आादि स्थानका पीडितलाई खाद्यान्न तथा अन्य सामाग्री वितरण गरेको थियो ।


उपाध्यक्ष वाग्लेले संघका सदस्यबाट उठेको २ लाख २० हजारको खाद्य सामाग्रीसँगै ६० थान कम्बल, १ सय १० थान त्रिपाल, ५ थान टेन्ट र तयारी कपडा वितरण गरेको जानकारी गराए । पीडितका लागि स्वेताश्री फाउन्डेसनले १ लाख ५ हजार प्रदान गरेको थियो भने गोपीकृष्ण टिभीले २५ हजार सहयोग गरेको थियो । संघका सदस्यले गच्छेअनुसार ११ हजारदेखि ५ हजारसम्म सहयोग गरेका थिए । 
संघले सर्लाहीको द्वन्द्वले पीडित बालबालिका रहेको ‘चेतना सन्देश’लाई ११ हजार नगद सहयोग गरेको थियो । उपाध्यक्ष वाग्लले संघले सहयोगलाई निरन्तरता दिने बताए । ‘हामीले गोजीबाट निकालेर तत्कालका लागि सक्ने सहयोग ग¥यौ । यत्तिकैमा चुप लागेर बस्दैनौं । सहयोग जुटाएर फेरि वितरणमा जान्छौं,’ वाग्लेले भने ।  


अघिल्लो हप्ता आएको बाढीले विस्थापितको सहयोगका लाािग कलाकारहरू व्यक्तिगत तथा संस्थागत रूपमा सक्रिय रहेका छन् । यसअघि कलाकार संघले पनि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको नेतृत्वमा सप्तरीका बाढी पीडितलाई राहत वितरण गरेको थियो ।