अभिनेताद्दय शिव श्रेष्ठ र भुवन केसीले नायिका गौरी मल्ललाई महानायिकाको उपाधि दिएका छन् l अरूको नजरमा अन्य कलाकार महानायिका भए पनि आफ्नो नजरमा गौरी नै महानायिका रहेको दुई अभिनेताको भनाइ छ l शोभित बस्नेतको निर्देशन रहेको फिल्म 'डाँडाको वरपीपल' एक गीत रिलिज कार्यक्रममा गौरीको प्रशंसा गर्दै उनलाई नै महानायिकाको उपाधि दिनु पर्ने बताएका हुन् l आफूलाई उक्त उपाधि दिएको भन्दै जवाफमा गौरीले 'आफूलाई पद र सम्मानभन्दा दर्शकको माया ठुलो हुने बताइन् । ‘काम सुरु गर्दा महानायिका हुन्छु र पद पाउँछु भनेर गरेको होइन । यो देशमा उपाधिको कुनै औचित्य छैन’ गौरीले भनिन्, ‘विभिन्न किसिमको उपाधिले मान्छेहरूलाई सिँगारेको देख्छु । मलाई उपाधि चाहिँदैन । हामीलाई श्रम गर्ने मौका दिनूस । पदभन्दा दर्शकको माया र स्नेह नै माथि छ ।’

केही वर्ष पहिले एक टेलिभिजन कार्यक्रम संचालकले राजेश हमाललाई महानायक र करिश्मा मानन्धरलाई महानायिका भएको बताए । उनले टिभी कार्यक्रमबाटै राजेश र करिश्मालाई यस्तो उपाधि दिएपछि दर्शकले पनि हमाललाई महानायक र करिश्मालाई महानायिका भन्न थालेका थिए l यसो त फिल्म क्षेत्रमा सबको नजरमा फरक फरक महानायक र महानायिका छन् l प्रत्येक व्यक्ति र संस्थाले निजी तवरबाटै उपाधि वितरण गरिरहेका हुन्छन् । यसलाई लिएर एकरूपता पनि पाइँदैन ।