साँझ पर्नुअघिनै
याे उज्यालाेकाे विउ
पुर्याइसक्नु छ पहाडकाे टुप्पाेमा।
जस्ले देखावस्
कलिलाे घामलाई मेराे गाउँसम्म अाइपुग्ने बाटाे।
उज्यालाे जुनलाई
देवस् मेराे अँध्यारो अागनकाे ठेगाना।
फेरि
अँध्याराे नझर्दै धर्तिमा
जलाइसक्नु छ विद्राेहकाे राँकाे
र
यात्रा तय गर्नु छ मुक्तिकाे सिविरसम्म।
र
तपाईंकाे निन्द्रा नखुल्दै मैले
सिकिसक्नु छ
-सपना देख्ने तरिका
-विपना बाँच्नुकाे महत्व
-बाटाेकाे लय
-माटाेकाे सुगन्ध
-स्वतन्त्रताकाे स्वाद
-उज्यालोकाे गित।
तपाइँलाई मेराे याेजना
कथाजस्ताे लाग्नसक्छ।
तर
म कथा हैन कथाकाे पात्र हुँ।
महासय!
हाेस् गर्नुस्!
मेरा यी सपनाहरु पूरा गर्न
म
छिर्न सक्छु तपाईंको कथामा पनि।