बलिउडका स्थापित निर्देशक सुरज बडजत्याले निर्देशन गर्ने आगामी फिल्म 'उचाइ'को छायांकनका लागि भारतका चर्चित कलाकारहरू नेपाल आएको खबर अहिले चर्चामा छ। यो फिल्मका मुख्य कलाकार अनुपम खेर, परिनीति चोपडा, बोमन इरानीजस्ता कलाकार काठमाडौँमा केही समय बिताएर आज बुधवार लुक्ला प्रस्थान गरेका छन्। बलिउडका स्थापित निर्देशक सुरज बडजत्याले निर्देशन गरेको यस फिल्ममा नेपाली कलाकारहरूको पनि अभिनय रहने छ l जसमा कलाकारहरू परिमिता राणा, सरोज लामिछाने, डम्बर बोहरा, उरुशा जोशी, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, नीरज मुक्तान, नारायण विश्वकर्मा, आयुश सुवेदी, स्नेहा अधिकारी, सरोज प्रजु, किस नन्दु सिंह (सिद्धार्थ), आरोन गुरुङलगायत कलाकारले फिल्ममा अभिनय गर्ने छन् l यी कलाकारहरू पनि आज लुक्ला प्रस्थान गरी सकेका छन् l सो खबर नेपालका तर्फबाट फिल्मको व्यवस्थापन गरिरहेको 'थ्रि ह्विलर्स फिल्म प्राइभेट लिमिटेड'का निर्देशक पुष्पराज न्यौपानेले जानकारी गरेका हुन् l उचाइको छायांकन नेपालका पहाडी तथा हिमाली भेगका लुक्ला, नाम्चे, मनाङलगायत काठमाडौं र भारतको मुम्बईमा हुनेछ। छायांकनका लागि भारतबाट १५० जनाभन्दा बढी क्रु मेम्बर नेपाल आएका छन् l फिल्म 'उचाइ'मन मिल्ने साथीहरूको मित्रताको कहानी भएको ट्राभल मुभी हो।