सुदर्शन थापाको निर्देशनमा चलचित्र ‘राजा’ बन्ने भएको छ । यो चलचित्रलाई परशुराम बस्नेतले निर्माण गर्दैछन् । नेकपा एमालेका यूवा नेता समेत रहेका बस्नेतले पहिलो पटक चलचित्रमा लगानी गर्न लागेका हुन् । उनी, नेपाल खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष तथा प्रदेश नम्बर १ खेलकुद विकास बोर्डका कार्यकारी प्रमुख सदस्य सचिव समेत हुन् ।
चलचित्र राजामा एक्सनलाई प्राथमिकताका साथ प्रस्तुत गरिने सुदर्शनले बताए । लभ स्टोरी चलचित्रमा जमेका सुदर्शनले अब एक्सन जनराको चलचित्र पनि निर्देशन गर्नेछन् ।
यो चलचित्रमा राज कटुवालको मुख्य भूमिका रहनेछ । अन्य कलाकारको छनोट कार्य जारी रहेको थापाले बताए । राजले केही नेपाली चलचित्र र म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् ।
चलचित्र राजाको कथा शिवम् अधिकारीले लेखिरहेका छन् । माघको दोश्रो साताबाट यो चलचित्रको छायांकन सुरु गरिने निर्माणपक्षले बताएको छ ।
सुदर्शनले निर्देशन गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ माघको १९ गतेबाट रिलिज हुँदैछ । सुदर्शनले चलचित्र ‘मेरो एउटा साथी छ, मेरो लभ स्टोरी, प्रेमगीत, म यस्तो गीत गाउँछु’ जस्ता सफल प्रेम कहानी निर्देशन गरिसकेका छन् ।