अभिनेता दयाहाङ राईलाई मुख्य भूमिकामा अनुबन्धित गर्दै निर्देशक नवीन सुब्बाको दश वर्ष पछि फिल्म निर्देशनमा पुनरागमन गर्दै छन् l उनले नयाँ फिल्म ‘गाउँ आएको बाटो’ बनाउन लागेका हुन् । फिल्ममा दयाहाङको अलावा पशुपति राई, खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा लगायतका कलाकारहरूको मुख्य भूमिका रहनेछ । फिल्मको निर्मातामा अमोद राई रहेका छन् । फिल्मलाई अमेरिकन छायांकार मार्किन कापरोनले खिच्ने छन् l भोजपुरको ग्रामीण क्षेत्रलाई छायांकन स्थल लक् गरिएको यस फिल्मले राई समुदायको कथा भन्नेछ । कार्यकारी निर्मातामा नेपालबाट सञ्जु राई, हङकङबाट देवराज राई, युकेबाट नरहाङ राई र अमेरिकाबाट भीम राई रहेका छन् । हङकङ, मकाउ, नेपाल, युके, अमेरिका, बेल्जियम, साउथ कोरिया, नेदरल्यान्ड, पोर्चुगल र जर्मनी निवासी व्यक्तिहरू फिल्मको सह-निर्मातामा रहेका छन् । निर्देशक नवीन सुब्बाले ‘नुमाफुङ’ ‘गुड बाई काठमाडौँ’ जस्ता फिल्मको निर्देशन गरेका छन् l