गायन रियालिटी सो 'नेपाल आइडल' चौथो संस्करण मंशिर २३ गतेदेखि प्रसारण हुनेभएको छ। कोरोनाका कारण प्रभावित रियालिटी शोको नयाँ संस्करणलाई अघिल्ला सिजनभन्दा सशक्त रूपमा ल्याउने तयारी रियालिटी टिमको छ l एपि वान टेलिभिजनबाट प्रसारण हुने यस सो नेपाली संगीतिक इतिहासकै ठुलो फ्रेन्चाइज गायन रियालिटी सो हो l काठमाडौँ भन्दा बाहिर डिजिटल अडिसनको माध्यमबाट सहभागी गराइएको थियो भने काठमाडौँमा प्रतिस्पर्धीहरूको माग र चाहना अनुसार खुल्ला अडिसन गरेको थियो। हाल देशभरबाट १३० को हाराहारीमा जज अडिसनबाट छनौट भई सकेका छन्। कार्यक्रममा १६ वर्षदेखि ३० वर्ष उमेर समूहका नेपाली नागरिक सहभागी छन्। यस पटक चौथो सिजनमा निर्णायहरु पनि परिवर्तन भएका छन् l प्यानलमा गायक तथा संगीतकार शम्भुजित बास्कोटा, गायक सुगम पोखरेल र गायिका सुवानी मोक्तान रहेका छन् l साथै कार्यक्रम प्रस्तोतामा असिफ शाहको साथमा मोडल रेश्मा घिमिरे हुने छिन् । सोलाई निर्देशक सुरेश पौडेलले निर्देशन गर्ने भएका छन् ।