थापागाउँस्थित कान्तिपुर फिल्म कलेजमा राखिएको नयाँ फिल्म 'लाखे' को अडिसनमा १० कलाकार छनौट भएका छन् । फिल्मका लागि एक सह–अभिनेत्री, एक बाल कलाकारसहित विभिन्न चरित्रका लागि १० कलाकार निर्माण युनिटले छानेका थिए l फिल्मका लागि अडिसनमार्फत पहिलो चरणमा सह– नायिका रक्षा बुढाथोकी, अजय पन्त, उमेश सुनाम, रुपेश झा, चक्र बहादुर विष्ट, सुजन ए.परियार, श्रवण कुमार राणा, राजन भुजेल, अन्विशा खड्गी र बाल कलाकार सिष्टम भण्डारी रहेका छन् । २०० बढी व्यक्तिले फिल्मका लागि अडिसन दिएका थिए । निर्देशक सम्राट् बस्नेतले मल्टी स्टार राखेर यस फिल्म निर्माण गर्दै छन् l सो फिल्मको लागि उनले केही कलाकार पनि फाइनल गरी सकेका छन् l जसमा सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापा लगायत रहेका छन् l ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सन प्रालिको ब्यानरमा बन्ने फिल्मका निर्माता सिजन अर्याल हुन् । गणेश मल्ल ठकुरीको प्रस्तुकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता छन् । हाइ बजेटमा निर्माण हुन लागेको यस फिल्ममा अन्य नयाँ कलाकारहरूको पनि अभिनय रहने छ l फिल्मको कथा पनि निर्माता सिजन अर्यालकै रहने छ l यस अघि निर्देशक सम्राट्ले फिल्म 'पासवर्ड' निर्माण गरेका थिए l व्यावसायिक रूपमा सफलता नपाएता पनि फिल्मको चौतर्फी चर्चा भने भएको थियो l