भनिन्छ नि 'दशा बाजा बजाएर आउँदैन भनेर' l अहिले यस्तै भएको छ नेपाली फिल्म क्षेत्रलाई l बल्ल बल्ल आफ्नै लयमा फर्किँदै गरेको सिने क्षेत्रलाई फेरी पनि कोरोनाले च्याप्ने अवस्था बनेको छ l हालै कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन फैलन थालेसँगै सिक्किमले आयोजना गरेको फिल्म फेस्टिभल स्थगित गरेको छ l फेस्टिभलमा भाग लिन दुई दर्जन नेपाली फिल्ममेकर र भुटानी निर्मातालाई निम्तो दिइएको थियो । मुम्बईका फिल्मकर्मी पनि जाने तयारीमा थिए । तर जोखिम नलिने सूचना निकाल्दै फेस्टिभललाई पोस्टपोन्ड गरेको जानकारी गराएको हो l सिक्किम फिल्म प्रवद्र्धन बोर्डकी अध्यक्ष पूजा शर्माको अनुसार अब भने उपयुक्त समयमा मात्र फेस्टिभल आयोजना गर्ने अभिव्यक्ति दिएकी छिन् । फेस्टिभलको उद्घाटनसँगै सिक्किमले औपचारिकरुपमा फिल्म पर्यटनको शुभारम्भ गर्ने कार्यक्रम थियो । तर भारतको गृह मन्त्रालय र सिक्किम सरकारले विदेशीलाई राज्य प्रवेश गर्न नदिने निर्देशन दिएपछि फेस्टिभल स्थगित गरिएको हो l