‘नेपाली संस्कृति बचाऔँ राष्ट्रिय महाअभियान २०७८’ को घोषणा भएको छ । आइतबार राजधानीमा एक कार्यक्रम गर्दै उक्त अभियानको घोषणा गरिएको हो l परिवर्तन नेपाल नामक संस्थाले शुभारम्भ गरेको महाअभियानमा सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी, फिल्म कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, नेपाल द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, नेशनल डेल्फिक काउन्सिल नेपालका अध्यक्ष श्रीदेव विएल , अभिनेत्री दिपाश्री निरौला , बसुन्धारा भुसाल लगायतको उपस्थिति रहेको थियो l यस महाअभियान अन्तर्गत नाटक मञ्चन गर्नेदेखि फिल्म समेत निर्माण हुनेछ । कार्यक्रममा बोल्दै महाअभियानका संयोजक मोहन निरौलाले राजनीतिक दल, सांस्कृतिक सम्पदा, पुरातात्त्विक सम्पदा, मठ मन्दिरका प्रमुख र विज्ञहरूलाई भेटेर अभियानबारे जानकारी गराउने, उपत्यकाका विभिन्न स्थानहरूमा अभियानका अभियन्ताहरूले मौन प्रदर्शन र अपिल गर्ने, समाजका रहेका विभिन्न व्यक्तित्वसँग अन्तरक्रिया गर्ने लगायत महाअभियानका कार्यक्रमहरू रहेको बताए । थप् उनले  ‘देश समाप्त पार्न युद्ध लड्नै पर्दैन, संस्कृति सकिएपछि देश नै सकिन्छ  । साथै संयोजक निरौलाले आवश्यकता अनुसार थप सदस्यहरू मनोनयन गरिने र महाअभियानसँग संस्थाबाहेक अन्य तह र तप्काका व्यक्तिहरू पनि क्रमशः जोडिन सक्ने जानकारी दिएका थिए । अहिले हामी संस्कृति सकिने कठघरामा छौँ । त्यस कारण संस्कृति बचाउनु पर्छ भनेर हामीले यो महाअभियानको शुभारम्भ गरेका हौँ ।’ नेपाली कला, साहित्य, फिल्महरू आफ्नै पहिचान र मौलिकतामा रहेर प्रस्तुत गर्न पनि आग्रह गरेका थिए । यसै गरी अभिनेत्री दिपा श्री निरौलाले भने अबदेखि विदेशी गीतमा टीकटक भिडिओ नबनाउने वाचा गरेकी छिन् ।‘हाम्रो सानो प्रयासले नै हाम्रो संस्कृतिलाई जोगाउन मद्दत पुग्नेछ ।’ उनले देशको भाषा र संस्कृति मिचिँदा नेपालीको पहिचान र अस्तित्व नै नरहने भन्दै नेपाली संस्कृतिमाथि भइरहेको अतिक्रमणको विरुद्धमा सबै एकजुट हुन आग्रह समेत गरिन् । कार्यक्रममा संस्थाको अपिल महाअभियानका सदस्य ठण्डबहादुर अधिकारीले प्रस्तुत गरेका थिए भने महाअभियान अन्तर्गतका कार्यक्रमको जानकारी मनोज भेटवालले दिएका थिए । ‘नेपाली संस्कृति बचाऔँ राष्ट्रिय महाअभियान’ को संयोजकमा मोहन निरौला छन् भने सुन्दर श्रेष्ठ, मुकुन्द मैनाली, ठण्डबहादुर अधिकारी, मनोजकुमार भेटवाल र विश्वमणि घिमिरे सदस्यमा छन् ।