फिल्म ‘चिसो एस्ट्रे’ को टिजर रिलिज गरिएको छ l म्युजिक नेपाल युट्युब च्यानल बाट केही समय अघि निर्माण टिमले टिजर बाहिर ल्याएका हुन् l गाउँबाट सहर आएको एउटा युवाको जीवनको उतार चढाव समेटिएको चलचित्रलाई दिनेश पाल्पालीले निर्देशन गरेका हुन् । आधुनिक बन्ने होडमा आफैँलाई गुमाउनु पर्ने स्थिति कसरी सृजना हुन्छ भन्ने फिल्ममा देखाइएको छ । निर्देशक पाल्पालीले फिल्मले मुख्य चार चरित्रमार्फत मानिसको अन्तर यात्राको कथालाई पर्दामा प्रस्तुत गर्ने खोजेको छ l ‘फिल्मले गाउँबाट सहर आएर आधुनिक बन्न खोज्ने एक युवाको कथा भन्ने प्रयास गरेका छ । तर, आधुनिक बन्ने चक्करमा उसले आफूलाई नै गुमाउन पुग्छ । आधुनिक बन्न उसले गर्ने यात्रा र यात्राका क्रममा भेट्ने अरू यात्रुको कथा नै चिसो एस्ट्रे हो’ ।
दिनेशले यसअघि फिल्म ‘बालकृष्ण सम : अनटोल्ड स्टोरी’ निर्देशन गरेका थिए । जुन काठमाडौँमा आयोजना हुने किम्फसँगै थाइल्यान्ड, क्यालीफोर्निया, चीन आदि देशका फिल्म महोत्सवमा छनोट भई विभिन्न अवार्ड जित्न सफल भएको थियो । फिल्ममा दिव्य देव, निकुन श्रेष्ठ, नवीन लम्साल, सुशील राज पाण्डे, रबिन तामाङ र सृष्टि श्रेष्ठलगायतको अभिनय रहेको छ । कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । उज्जल बस्ताकोटीले छायाङ्कन गरेको ‘चिसो एस्ट्रे’लाई उज्ज्वल ढकालले सम्पादन गरेका छन् ।