आमा, एउटा यस्तो शब्द जो उच्चारण गर्दा उच्च सम्मान र महसुस गर्दा न्यानोपनको आभास हुन्छ । सन्तानले आफू धर्तीमा आइसकेपछि उच्चारण गर्ने पहिलो शब्द पनि आमा नै हो । शास्त्रमा आमालाई पिताभन्दा पनि धेरै माथिको ओहोदामा राखिएको छ। संसारको सबैभन्दा पवित्र नाता आमा र पवित्र सम्बोधन पनि आमा भनेर उल्लेख छ । तिनै आमा जसले हामीलाई संसार देखाइन्, गर्भमा राखेर पीडा सहिन् र काखमा राखेर पालन पोषण गरिन्। सबैभन्दा बढी करुणा र माया बोक्ने आमा जसले बाल्यकालमा हाम्रा इच्छा पूरा गरिन् ।आमाको गरिमा र महिमाबारे शास्त्रमा पनि धेरै शब्द खर्चिएको पाइन्छ । शास्त्रमा आमालाई पृथ्वी र धरातलसँग दाँजिएको छ। प्रेम सबैले गर्दछन् तर निस्वार्थ प्रेम कस्तो हुन्छ, त्यो आमाबाटै सिकिन्छ। गहिरो प्रेमको औचित्य पनि आमालाई नै थाहा हुन्छ। तिनै आमाको कथा संघर्स लाई प्रस्तुत गर्न पूर्व मिस नेपाल तथा नायिका उषा खड्गी आमा कार्यक्रमको प्रस्तोता बनेर टेलिभिजनमा आउने भएकी छिन् l  'आमा सिजन ४' मार्फत कार्यक्रम प्रस्तोताको रुपमा प्रस्तुत हुन लागेकी खड्गीको 'आमा' मा आमाको आशीर्वाद र प्रेरणाको भूमिकालाई प्रसारण गरिनेछ । कार्यक्रम न्युज २४ टेलिभिजनमा साप्ताहिक रूपमा प्रसारण हुने छ l यस अघिका सिजनलाई सविना कुँवर , दोश्रो सिजनमा नायिका गौरी मल्ल र तेश्रो सिजनमा  नायिका सरिता लामिछाने कार्यक्रम प्रस्तोताको रुपमा देखिएका थिए l पहिलो, दोस्रो र तेस्रो सिजनबाट पाएको दर्शकको मायाको कदर गर्दै आमा सिजन चार प्रस्तुत गर्न लागेको टेलिभिजनले जनाएको छ । कार्यक्रममा  गुमनाम आमाहरूका त्याग, बलिदान, प्रेरणा र संघर्षको कथालाई हेर्न र बुझ्न सकिने छ ।