शुक्रवार बाट प्रदर्शनमा आएको हरर फिल्म 'कठपुतली' हेर्ने दर्शकको चाप बढेको छ l दर्शकको चाप बढे सँगै हल समेत चलायमान गर्ने फिल्म बनेकै कारण पनि मल्टीप्लेक्सहरु शो बढाएका थिए l शुक्रवार र शनिवार यो फिल्मको अकुपेन्सी काठमाडौँका मल्टिप्लेक्समा उच्च देखिएको छ ।दर्शक फर्काउन ठुलो भूमिका 'कठपुतली' को रहेको भन्दै सिनेकर्मीहरुले पनि बधाई दिइरहेका छन् l बुझिए अनुसार फिल्मले काठमाडौँका क्यूएफएक्स, बिग मुभिज, वान सिनेमाज लगायतका हलमा हाउसफुल व्यापार गरेको छ । माउथ पब्लिसिटीकै कारण पनि फिल्म हेर्ने दर्शकको ओइरो देखिएकाले यती बेला हल संचालकहरु पनि खुसी छन् l दर्शक बाट सकारात्मक प्रतिकृया पाएको फिल्मको कथावस्तु, कलाकारको अभिनय, प्रस्तुति र साउन्डको अत्यधिक प्रशंसा गरिएको छ l एक राज्यमा शासन गर्ने राजाको दरबार भित्रको सेरोफेरोमा आधारित कथामा राजाहरूले मोजा मस्ती गर्ने बहानामा दिनहुँ जनाताका चेलीबेटी माथि गर्ने शोषण, बलात्कार जस्ता कामबाट आजित महिलाहरूले मृत्यु परान्त लिएको बदलालाई कथाको रूप दिइएको छ । फिल्मकी लेखक तथा कार्यकारी निर्माता सम्पदा मल्ल रहेकी छिन् भने पृथ्वी राना मगरले निर्माण गरेका हुन् l भीमसेन लामाको निर्देशन रहेको फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतका अन्य कलाकारहरूको मुख्य अभिनय रहेको छ ।