कलाकारको लागी चलचित्रमा अभिनय गर्नु जति महत्त्वपूर्ण मानिन्छ उति नै प्रमोसनमा हिड्नु पनि मानिन्छ । कतिपय अवस्थामा एउटै चलचित्रले पनि कलाकारको करियरको बाटो मोड्दिन सक्छ । प्राय जसो कलाकारहरू आफू अभिनित चलचित्र प्रदर्शनको संघारमा आइपुग्दा जोडतोडले प्रमोसनमा लाग्छन् । प्रमोसनको माध्यमबाट नै कलाकार दर्शकसँग साक्षत्कार गर्न र आफ्नो पनि प्रमोसन गर्न पछि पदैनन्। तर यी सबबाट टाढा छिन् नायिका मेनुका प्रधान । आफू अभिनित चलचित्रहरु प्रदर्शनमा आएता पनि मेनुका न कुनै प्रमोसनमा दौडिन्छिन् त न दर्शकको प्रतिक्रिया लिन हल सम्म पुग्छिन् । अझ भनुम् सामजिक सञ्जालबाट पनि उनी टाढा छिन् । रंगमञ्च हुँदै चलचित्रमा प्रवेश गरेकी मेनुकासँग सामान्य चरित्रलाई पनि जीवन्त बनाउने खुबी छ । त्यस्तै कारण पनि हलमा उनी अभिनित चलचित्र हेर्न पस्ने दर्शकले उनलाई बिर्सेको हुँदैन । छोटो भूमिकाबाटै आफूलाई ‘मार्क’ गराउन सक्ने खुबी भएकी नायिका हुन् मेनुका प्रधान । तर अभिनयको खुसी हुँदा हुँदै पनि उनी आफू अभिनित कुनै पनि चलचित्रको प्रमोसनमा पुग्दिनन् । यस्तै भएको छ चलचित्र ‘२ रुपैयाँ’को टिमलाई । अर्को हप्ताबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘२ रुपैयाँ’को कुनै पनि प्रमोसन कार्यक्रममा मेनुकाको सहभागिता छैन । चलचित्रमा एक मात्र मुख्य महिला कलाकारको रूपमा मेनुका छिन् । ट्रेलरमा समेत अटाएकी मेनुका भने आफू बिरामी भएको कारण प्रमोसनमा नहिडेको बताउँदै आएकी छिन् । तर उनको यो बाहाना भने पहिलो होइन । यस अघि प्रदर्शनमा आएका धेरै चलचित्रको प्रमोसनमा पनि उनी हिडेको देखिन्न थियो । आफ्नो भूमिकामा दमदार प्रस्तुत हुने मेनुका प्रमोसनबाट किन भाग्छिन् त्यो भने मेनुका स्वंयमलाई थाहा होला ।