फिल्म ‘आनी’का मुख्य तीन कलाकार अनुबन्धित भएका छन् l युवराज लामाको निर्देशन रहने फिल्मको मुख्य भूमिकामा जान्वी बस्नेत, विजय लामा र सिद्धार्थ लामा लक् भएका हुन् l पाँच जना कलाकारको मुख्य भूमिका रहने यस फिल्ममा अन्य दुई भने छनौट हुन बाँकी रहेको छ l सबै कलाकार फाइनल भएपछि र कोरोनाको स्थितिमा सुधार आएपछि छायांकन मिति तय गरिने छ । निर्माण युनिटले फिल्मको छायांकन स्थल काठमाडौँ वा पोखराका गुम्बामध्ये कुनै एकलाई फाइनल गर्दै छन् l नायकको भूमिकामा युवराजका छोरा समेत रहेका मलायम फिल्मका अभिनेता सिद्धार्थको पनि अभिनय रहने छ । एक करोड लागतमा फिल्म निर्माण हुन लागेको हो l सन् १९८९ मा फिल्म भाग्य-रेखामा कोरियोग्राफरको कामबाट करिअर थालेका लामा निर्देशित पछिल्लो फिल्म धर्मात्मा सन् २००३ अक्टोबर ३१ मा रिलिज भएको थियो ।