पारिश्रमिक विवादका कारण फिल्म ‘गाउँ आएको बाटो’ का छायांकार मार्सिन क्याप्रोन प्रोजेक्ट छाडेर अमेरिका फर्किएका छन् । सुटिङ हुँदा हुँदै विवादको चपेटामा परेको यस फिल्मलाई अब अमेरिकी सिनेम्याटोग्राफर जोस हेर्मनले खिच्ने छन् l सम्झौता गरे अनुसारको आफ्नो पारिश्रमिक नआएको भन्दै मार्सिनले प्रोजेक्टलाई लात हानेर अमेरिका नै फर्किएका हुन् l सम्झौतामा प्रोजेक्टको थालनीमा कूल पारिश्रमिकको २५ प्रतिशत रकम (पाँच हजार डलर)मात्र उपलब्ध गराउने सहमति छ । निर्माताले सम्झौताअनुसार दिनुपर्ने कूल पारिश्रमिकमध्ये ६ हजार डलर मात्र उपलब्ध गराएको छ l आफूले पाउनु पर्ने रकम नपाए कानुनी उपचार तिर लाग्ने उनको भनाइ छ l तर यी कुराहरू झुटो भएको यसै फिल्मका निर्माता आमोद राईले बताएका छन् l उनी भन्छन् : छायांकन पुरा नहुँदै क्याप्रोनले सम्झौताअनुसारको पुरै पारिश्रमिक मागे l ‘साथै, निर्देशकसँग उहाँको क्रिएटिभ मामिलामा मतभिन्नता आएकाले पनि समस्या भएको हो । हामीले सम्झौताअनुसार प्रोजेक्टको सुरुआतमा दिनुपर्ने भनिएको २५ प्रतिशत रकम उहाँलाई उपलब्ध गराएका छौँ ।’ तर मार्सिनले भने अनुसार उनले २५ प्रतिशत दृश्य खिचेको पैसा मागेका हुन् l हाल सम्म यस फिल्मको ५० प्रतिशत छायाङ्कन सकिएको छ l मौलिक सिनेमा निर्देशकको छवि बनाएका नवीन सुब्बा एक दशकपछि निर्देशनमा यसै फिल्म बाट पुनः फर्किएका हुन् l यो उनको तेस्रो फिचर फिल्म हो । यसअघि उनले ‘नुमाफुङ’ र ‘गुडबाई काठमाडौँ’ सिनेमा निर्देशन गरेका थिए ।‘गाउँ आएको बाटो’मा अभिनेता दयाहाङ राई र अभिनेत्रीमा पशुपति राई रहनेछन् । फिल्मको  कथा महेश राई र नवीन सुब्बाले लेखेका हुन् ।