'नोगेन' गीतका संगीतकार महेश खड्काले गीतमा प्रयोग भएको संगीत चोरी भएको कुरा ठाडै अस्वीकार गर्दिएका छन् l केही दिन अघि अर्का संगीतकार वसन्त सापकोटाले उक्त गीतको केही अंश आफूद्वारा संगीतबद्ध गीत सिलसिलामा समावेश ‘सागर सरी चोखो माया’ बाट चोरी गरेको आरोप लगाएका थिए । सोही आरोपको हल्लाले बजार तताएपछि गीतका टिमले सो कुराको स्पस्टी दिन पत्रकार सम्मेलन गरेका छन् l सोही सम्मेलनमा संगीतकार महेशले संगीत चोरी नभएको बताएका हुन् l सम्मेलनमा महेशले बोल्दै :‘यदि चोरेको लाग्छ भने उहाँ कानुनी उपचारमा नगएर किन मिडिया बाजी गर्दै हुनुहुन्छ ? उहाँले कुण्ठित मनासयले मेरो सम्मानमा आँच आउने ढंगले अघि बढ्नुभएको छ ।’‘चित्त बुझेको छैन भने कानुनी उपचारका बाटा छन्, मिडियामा गएर भन्ने होइन’ उनले भने । साथै एकले अर्कोलाई दोष देखाएर नेपाली संगीत क्षेत्र कहिँपनि नपुग्ने बताउँदै खड्काले यो विवादले उल्टै सापकोटालाई हानी गर्ने जिकिर गरे । ‘चोर भनेर आरोप प्रत्यारोप गर्ने हो भने नेपाली संगीत क्षेत्रमा कोही पनि अघि नबढे हुन्छ । यो विवादले स्वयम वसन्त भाइलाई घात गर्ने उनको भनाइ छ l प्रमोद खरेलले द भ्वाइस किड्सकी प्रतिस्पर्धी बालिका रुक्सना लिम्बुको आवाजमा समावेश गीतलाई हाल सम्म १२ लाखभन्दा बढी दर्शकले हेरेका छन् l गीतमा ८ हजारभन्दा बढीले प्रतिक्रिया जनाइसकेका छन् । अधिकांश प्रतिक्रिया सकारात्मक छन् । एक लाख १० हजारले गीतमा लाइक बटम थिचेका छन् । मिनाक्षी कोइरालाको निर्देशन रहेको भिडियोमा प्रमोद र रुक्सनानै फिचर्ड छन् l गीतमा शब्द र संगीत महेश खड्काको रहेको छ ।