फिल्मको रिलिज डेट नजिकिँदै गर्दा 'म यस्तो गीत गाउँछु २' टिम सिनेमा हल-हलमा पुगिरहेका छन् । २७ दिन लामो बन्दका कारण शून्य बनेका हलहरू फागुन १ गतेदेखि चलमलाउन थालेका छन् । सुदर्शन, पूजा र पल हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् भने हलका कर्मचारी, म्यानेजरसँग पनि भेटघाट गरिरहेका छन् । उनीहरू काठमाडौँका मुख्य हलहरू क्यूएफएक्स सिभिल मल, छायाँ सेन्टर, बिग मुभिज, एफक्यूब लगायतका हलमा पुगेका हुन् । फाल्गुन १३ गते बाट प्रदर्शनमा आउन लागेको फिल्ममा पूजा र पलका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरूको अभिनय रहेको छ ।'म यस्तो गीत गाउँछु २'को कथा शिवम अधिकारी र दिनेश न्यौपानेले लेखेका हुन् । बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मलाई सौरभ लामाले खिचेका हुन् । फिल्ममा पाँच गीत समावेश छन् भने पाँच वटै गीतमा सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीत रहेको छ ।