निर्देशक विनोद पौडेलको दोस्रो फिल्म 'रबर सिटी' को छायाङ्कन अमेरिका बाट सुरु गरिएको छ l पौडेलले सामाजिक सञ्जालमा फिल्म सेटका केही तस्बिर पोष्ट गर्दै छायांकन सुरु भएको जानकारी दिएका हुन् l एक्रोन सहरमा भइरहेको छायाँकनको लागि एक महिनाको समय तालिका छुटाइएको छ l भुटानी शरणार्थीको कथामा निर्माण हुने यस फिल्ममा सुशांक मैनाली र राधा लम्साल मुख्य भूमिकामा रहने छन् l यिनको अलावा अन्य बाँकी कलाकार भने नयाँ नै हुने छन् l फिल्मको कथा पटकथा निर्देशक पौडेलले नै लेखेका हुन् l फिल्मको बजेट छ करोड माथि हुने निर्माण पक्षको भनाइ छ l सुशांक र राधाको अलावा फिल्ममा अरुणा कार्की लगायतको पनि मुख्य भूमिका रहनेछ । फिल्ममा केही अमेरिकी कलाकार समेत रहनेछन् । अंकित पौडेलले यसको छायांकन गर्ने छन्। अविरल थापा, राजु पौडेल ,भक्त रिजाल,किर्तना बाँस्कोटा र यातिन पर्खानी फिल्मका निर्माता हुन् l यस अघि विनोदले फिल्म 'बुलबुल' निर्माण गरेका थिए l जुन फिल्मले बक्स अफिसमा बम्पर ओपनिङ गरेको थियो l साथै फिल्मले फेस्टिभलमा सहभागिता जनाउँदै कयौँ अवार्डहरू पनि जितेको थियो l