लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ ।बुधवार बिहान २ बजे आफ्नै घर अघि गाडीबाट ओर्लने क्रममा लडेर उनको निधन भएको हो । उनले थुप्रै मौलिक लोकगीत गाएका छन् भने दर्जनौँ फिल्ममा अभिनय पनि गरेका छन् l उनका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीतहरू चर्चित छन् ।पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए । उनै लामा सँग काम गर्ने सपना अधुरै रहेको कलाकार दीपक राज गिरिले बताएका छन् l लामाको अप्रत्याशित मृत्युपछि निर्माता, निर्देशक तथा हाँस्य कलाकार दीपकराज गिरीले फेसबुकमा उनीप्रति श्रद्धाञ्जली दिँदै लामासँग छक्का पन्जा ४ मा सँगै काम गर्ने इच्छा अपूरो रहेको बताएका हुन् l 'छक्का पन्जा १' बाट जयनन्द सँग बाक्लिएको सम्बन्धलाई सम्झँदै दीपकले अगाडि लेखेका छन्, ‘उहाँले हाँस्ने एउटा गज्जबको शैली थियो, जसलाई हामीले चलचित्रमा पनि प्रयोग गर्यौँ। उहाँको हाँसो सुनेपछि छुट्टै माहौल बन्थ्यो। त्यो अजिबको हाँसो अनि तपाईँका रसिक कुराहरू, सकारात्मक सोच र त्यो बिन्दा सपना, यी सबै अब सम्झनामा मात्रै रहे, यस्ता थुप्रै सम्झनाका सँगालो छाडेर परलोक प्रस्थान गर्नुभएको छ। छक्का पन्जा ४ मा काम गर्ने सपना अधुरै रह्यो।’ उनले काम गरेको चलचित्र ‘लक्का जवान’ प्रदर्शन हुन बाँकी नै रहेको छ।