टिजर सार्वजनिक गर्दै ट्राभल रियालिटी सो 'इम्याजिन नेपाल'को घोषणा गरिएको छ । उक्त रियालिटी सो मा वृत्तचित्र (डकुमेन्ट्री ) बनाउन ७ जना भिडियो निर्माता निर्देशक बिच प्रतिस्पर्धा हुनेछ । प्रत्येक निर्माताले आफ्नो तोकिएको प्रदेशका लागि उत्कृष्ट वृत्तचित्र (डकुमेन्ट्री ) बनाउन प्रतिस्पर्धा गर्न आफ्नो ७ जनाको टोलीसँग नेपालका ७ प्रदेशको भ्रमण गर्नेछन् र सोही ठाउँको वृत्तचित्र निर्माण गर्नेछन् । उनीहरूको टोली र टोलीको कार्य प्रवर्द्धन गर्नका लागि फरक-फरक प्रभावशाली व्यक्तित्व पनि तोकिनेछन् ।

यस ट्राभल रियालिटी सोमा श्री भूषण दाहाल मुख्य निर्णायकका रूपमा रहेका छन् भने सुरज सिंह ठकुरी होस्ट र प्रोडक्सन लिडको रूपमा देखिँदै छन् । यात्राका रोमाञ्चक कथाहरू सँगै १६ फरक भागको रूपमा वैशाखबाट कान्तिपुर HD मार्फत सो प्रसारणमा आउनेछ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा लाखौँ मानिसहरूमा पुग्ने आशा राख्दै निर्माण टिमले यस सो लाई दर्शक माझ ल्याउन लागेका हुन् । उप्ट्रेन्डल्री मिडियाका कार्यकारी अधिकृत मोनायक कार्कीको अनुसार धेरै व्यवसायहरू, ब्रान्डहरू, र सङ्गठनहरूको साथ र आबद्धता गर्ने तयारी समेत गरेको बताएका छन् । नेपाललाई जनताले हेर्ने तरिकामा हाम्रो यात्राले पक्कै परिवर्तन गराउने टिमको अपेक्षा रहेको छ ।

सन् २०१६ देखी इम्याजिन नेपाल हरेक वर्ष प्रभावशाली व्यक्तित्वहरूलाई लिएर देशभरिका अदभूत रमणीय ठाउँहरूमा पुगिरहेको र डिजिटल माध्यमबाट आफ्ना अनुभवहरू प्रस्तुत गरिरहेको थियो । यस वर्ष भने महिन्द्रा राइजको प्रस्तुतिमा इम्याजिन नेपालले एक रियालिटी सोको ढाँचा लिएको हो ।