आज शुक्रबारबाट देशभरका हलहरुमा चलचित्र ‘२ रुपैयाँ’ प्रदर्शन भएको छ । सुखद ओपनिङ गरेको ‘२ रुपैयाँ’लाई क्यु एफ एक्समा २४ सो दिइएको थियो । यसअघि निश्चल बस्नेत निर्देशित चलचित्र ‘लुट २’ले मल्टिप्लेक्समा धेरै सो पाएको थियो । चलचित्रलाई असिम शाहले निर्देशन गरेका हुन् भने दुई निर्देशक जोडी निश्चल बस्नेत र आसिफ शाह चलचित्रमा मुख्य भुमिका रहेका छन् । पैसा कमाउन दुई युवाले खेलेको खेललाई चलचित्र २ रुपैयाँमा उतारिएकोे छ । जसमा निश्चल ‘जुरेली’ र आसिफ ‘दारी’को भुमिकामा रहेका छन् । चलचित्रमा निश्चल र आसिफको साथमा मेनुका प्रधान, बुद्धि तामाङ, रविन्द्र झा, राजन इसान लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । प्रदर्शन अगावै चलचित्रको ‘कुटुमा कुटु सुपारी दाना‘ले युट्युवमा २ करोड बढि हेरिएको भएर किर्तिमान राखेको थियो । उक्त गीतको रचना, संगीत र स्वर राजनराज शिवाकोटीको रहेको छ ।