पल -समीक्षा प्रकरण बारे बोल्दा कन्ट्रोभर्सीमा परिन्छ भने डरले केही समय अघि न कुनै कलाकारले मुख खोलेका थिए न त कुनै गायक- गायिकाले नै l तर अहिले भने कलाकारका साथै गायक -गायिकाले पनि भटाभट मुख खोल्न थालेका छन् l कोही दिल खोलेर पलको समर्थन गरी रहेका छन् भने कोही समीक्षालाई समर्थन गरी रहेका छन् l पूर्व मिस नेपाल श्रिङखला खतिवडा , नायिका विनीता बराल लगायतका केही कलाकारहरू -समीक्षा तिर लागिरहेका, अधिकांश भने पल तिर नै गैरहेका छन् l हालै मात्र गायिका एलिना चौहानले पनि यस बारे मुख खोलेकी छिन् l समीक्षालाई आफ्नो अडानमा बस्न एलिनाको सुझाव छ  l सञ्जालमा समीक्षालाई प्रिय बहिनी भन्दै उनी लेख्छिन् :     

प्रिय समीक्षा बहिनी मलाई तिम्रो धेरै माया लाग्छ । किनकि हामीले झन्डै एउटै समयमा यो क्षेत्रमा पाइला अघि बढाएका थियौँ । अझ साहानुभूती त तिमीले भनेझैँ तिमी नाबालिग भएर पाएकी छौ । तिमीसँगको सहकार्यमा गरेका धेरै कामहरू मेरा सफल बनेका छन् । तिमी र मबिच धेरै नजिकको सम्बन्ध छ । तर, यो सम्बन्ध रहिरहँदा तिमीले मलाई आज बाहिर सुनिरहेका कुराहरू कहिल्यै सुनाएकी थिएनौँ । हुन त आज तिमीले लगाएको पल दाजुप्रतिको आरोप के हो ? त्यसको वास्तविकता केलाउने अदालतको काम हो । यदि तिमी सत्य छौ भने तिमीले भोग्नु परेको दुःखको चिन्ता नलिनू । बाहिरको अफवाह झुटो भई तिमीले भनेझैँ सबै कुरा सबुत प्रमाणका आधारमा प्रमाणित भए पक्कै पनि तिमीले न्याय पाउने छौ । अहिले तिमी गलत छौ या सही कसैले भन् नसक्ने अधिकार कानुनले दिएको छैन । बाहिर आएको अडियो रेकर्ड र केही अन्तर्वार्ता कति तिम्रो पक्षमा छन् अनि कति तिम्रो विपक्षमा पनि उभिएका छन् । तिमी नाबालिग हौ भनेर कहीँ प्रमाणित भएको अवस्था देखेको छैन । भन्न त तिमीले सबैलाई आफ्नो उमेर भनेकी थियौ । तर, कानुनले प्रमाणमा विश्वास राख्छ । र, त्यो तिमीले कानुनलाई बुझाएकी छौ होला । नाबालिग प्रमाणित भएको खण्डमा कानुनले त्यसैअनुरूप तिमीलाई न्याय दिनेछ । तिमी अन्यायमा परेकी हौ भने सबैले तिमीलाई मद्दत गर्नेछन् । म पनि तिम्रो साथमा छु । अब सत्यतामा बसेर आफ्नो अडान राख्नु ।