बलात्कार काण्डका कारण हाल हिरासतमा बिताइरहेका अभिनेता पल शाहलाई अनुसन्धान प्रक्रियामा सहयोग गर्न आग्रह गरिएको छ l राष्ट्रिय मानव अधिकार आयोगले संयमित भएर अनुसन्धान प्रक्रियामा सहयोग गर्न आग्रह गरेको हो l एक बिग्यप्ती जारी गर्दै मानव अधिकार आयोगले विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूमा आरोपका पक्ष र विपक्षमा भइरहेका प्रचारबाजी, प्रदर्शन तथा सार्वजनिक अभिव्यक्तिप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा एक नाबालिगले जबरजस्ती करणीको मुद्दामा जाहेरी दिएपछि फरार रहेका पलले आइतबार आत्मसमर्पण गरे । तनहुँ जिल्ला अदालतले उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ । तर, अनुसन्धानलाई समेत प्रभावित पार्ने गरी यति बेला तनहुँ प्रहरी कार्यालय अगाडि पलको पक्षमा नारा-जुलुस भइरहेको छ भने कतिपय पल निर्दोष रहेको भन्दै सामाजिक सञ्जाल र मिडियामा विभिन्न खाले तर्क गरिरहेका छन् ।