नेपाली फिल्म तथा सञ्चारमाध्यममा महिलाको उपस्थितिको बारेमा एक दिने कार्यक्रम आयोजना भएको छ । किपालय  प्रडक्सनले ब्रिटिस काउन्सिलसँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा एक दिन वुमन अफ दिन वर्ल्ड फेस्टिभलअन्तर्गत फिल्म डेको रुपमा मनाउने निर्णय गर्दै फिल्ममा महिलाको भूमिकालाई केन्द्रमा राखेर एक दिने कार्यक्रम आयोजना गरिएको हो l महिला दिवसको दिन ८ मार्चबाट सुरु गरी १० दिनसम्म एक दिन सो कार्यक्रम राखिएको थियो l मुख्य गरी तीन भागमा बाँडी गरिएको कार्यक्रममा अधिकांश सहभागीले सिनेमा तथा मिडिया दुवैमा महिलाको संख्या मात्र कम नभएर दुवै क्षेत्रमा उनीहरूको हस्तक्षेपकारी भूमिका पनि नभएको निष्कर्ष प्रस्तुत गरेका थिए । प्रसुना डंगोलले सञ्चालन गरेको छलफलमा प्रशंसा केसी, बर्खा राई, तोरा योङ र आकांक्षा कार्कीले आफ्नो अनुभव बाँडेका थिए । दोस्रो सत्रमा भने नेपाली फिल्ममा महिलाको चरित्र चित्रणसम्बन्धी समस्यालाई प्रस्तुत गरिएको थियो । कार्यक्रममा पिंकी शिरीष रानाले नारीवादको आँखाबाट नेपाली फिल्म र मिडियामा महिलाको अवस्था प्रस्तुत गरेकी थिइन् भने अभिमन्यु दीक्षितले विगतदेखि वर्तमानसम्ममा नेपाली सिनेमामा महिलाको प्रतिनिधित्वको चर्चा गरेका थिए । सो सत्रमा केही नेपाली सिनेमाका प्रतिनिधि दृश्यहरू देखाउँदै तिनले समग्र नेपाली सिनेमाको अवस्था बयान गर्ने आशय व्यक्त गरिएको थियो । यो सत्रको संयोजन गौँथली इन्टरटेनमेन्टले गरेको थियो । कार्यक्रमको तेस्रो भागमा भने नेपाली सिनेमामा महिलाको वर्तमान अवस्था, अवसर तथा चुनौतीका विषयमा राउन्ड टेबल छलफल चलाइएको थियो । अभिनेत्री उषा रजकले सहजीकरण गरेको छलफलमा सिनेमामार्फत नारी सशक्तीकरणमा काम गरिरहेका संस्थाका प्रतिनिधिको सहभागी रहेको थियो । सो सत्रको सञ्चालन प्राधान्य योञ्जनले गरेकी थिइन् भने कर्मा इहाजोम, इहाका डोल्मा, सम्पदा सापकोटा, रोसेटे डेला रोसा तामाङ र अन्नपूर्ण देवकोटाले आफूले बनाएका फिल्मको बारेमा धारणा राखेका थिए l