फिल्म ‘चिसो एष्ट्रे’ लाई सकारात्मक प्रतिक्रियाको ओइरो आएको छ l गत मंगलबार साँझ सिभिल मलको क्युएफएक्स राखिएको प्रीमिएरमा पुगेका सेलीब्रेटीले फिल्म उत्कृष्ट रहेको बताएका हुन् l प्रीमिएरमा कलाकार सन्तोष पन्त , निर्देशक प्रदीप भट्टराई , निश्चल बस्नेत , महानायक राजेश हमाल, खगेन्द्र लामिछाने लगायतको उपस्थिति रहेको थियो l फिल्मको कथा वाचन र दृश्य भाषा हलिउड स्तरको भएको प्रतिक्रिया दिएका छन् । निर्देशक निश्चल बस्नेतले फिल्मको सोचाइ र सोचाइलाई पर्दामा उतार्न निर्देशकले गरेको मेहनत प्रशंसनीय रहेको धारणा राखेका थिए । उनले पनि फिल्मको अभिनयदेखि कस्ट्युमको छनौटसम्मको तारिफ गर्दै दृश्य भाषामा भने चलचित्र निकै नै अब्बल रहेको बताएका थिए ।
यसै गरी अभिनेता राजेश हमालले पनि फिल्मको दिल् खोलेर प्रशंसा गरे उनले भने- ‘विशेष गरी युवापुस्ताले फिल्मलाई बढी रिलेट गर्नुहुन्छ होला । सिनेमामा युवापुस्ताको आकांक्षा, प्राप्ति, हार, जित, मित्रता सबै समेटिएको छ । काठमाडौँमा बस्ने सबैलाई सिनेमाको कथाले छुन्छ । ‘चिसो एष्ट्रे’ फिल्म पारखीले नछुटाई हेर्नुपर्ने फिल्म हो ।’ कलाकार, लेखक तथा निर्देशक खगेन्द्र लामिछाने आफूले नियमित हेर्ने गरेको फिल्म र अभिनय गर्दै आएको फिल्म भन्दा ‘चिसो एष्ट्रे’ एकदमै फरक रहेको बताए । कथा भन्ने शैली अझ फरक तरिकाले प्रस्तुत भएकोमा उनले खुसी व्यक्त गरे । कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मलाई दिनेश पाल्पालीले निर्देशन गरेका हुन् l आधुनिक बन्न खोज्दा आफैँलाई गुमाउन पुग्ने युवाको कथा फिल्ममा समावेश छ ।
उज्ज्वल बस्ताकोटीको छायांकन र उज्ज्वल ढकालको सम्पादन फिल्ममा समावेश छ । फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निकुन श्रेष्ठ, नवीन लम्साल, सुशील राज पाण्डे, रविन तामाङ र सृष्टि श्रेष्ठको फिल्ममा मुख्य भूमिका रहेको छ l दिनेशले लेखन तथा निर्देशनसँगै गीतकारको पनि भूमिका निर्वाह गरेका छन् । फिल्मको सह निर्मातामा रुपेश ढुंगाना र नवीन ढुंगाना छन् । फिल्म आउँदो शुक्रवार बाट रिलिज हुँदै छ l