पछिल्लो समय युट्युबको जमात बढ्दो छ । युट्युब प्राय मानिसको लागी सजिलो उपाय बन्दै गइरहेको छ । यस भित्र आफूले खोजेको, सिक्न चाहेको लगायतका हरेक कुरा सजिलै पाइन्छ । यही कारण हुन सक्छ पछिल्लो केही वर्ष यता सबैको लोकप्रिय बन्दै गइरहेको छ । संसारभर जस्तै नेपालमा पनि युट्युब प्रतिको लगाव बढ्दो छ । बिशेषत गीत सङ्गीतमा यसले तहल्का नै मच्चाएको छ । कुन गीत कति सफल भए, कुन गीतमा कतिको दम छ सबै छर्लङ पार्दिन्छ युट्युबले । यही युट्युबको दौडमा को अघि र, को पछि ? भन्ने क्रममा सङ्गीतकार राजनराज सिवाकोटीको सङ्गीत, शब्द र स्वरले भरिएको ‘कुटुमा कुटु..’ले नेपालको युट्युबको इतिहासमा नयाँ रेर्कड बनाएको छ । अपलोड भएको छोटो समयमा नै उक्त गीतलाई युट्युबमा झन्डै २ करोड १८ लाख हेरिसकेका छन् ।

 

जेठ १४ गते युट्युबमा राखिएको यो गीतले १०५ दिनमा ( ३ महिना १५ दिन) मा नयाँ रेर्कड राख्न सफल भएको हो । ‘कुटुमा कुटु..’ चलचित्र ‘२ रुपैयाँ’मा समावेश भएको गीत हो । चलचित्र ‘२ रुपैयाँ’ शुक्रवार (भदौ २३) गतेबाट हलहरुमा प्रदर्शन भइरहेको छ । यस अघि ‘कुटुमा कुटु..’ले  चलचित्र प्रदर्शन हुनु अगावै २ करोड पटक हेरिएको कारण नयाँ रेकर्ड बनाएको थियो । त्यस्तै नेपालमा सबै भन्दा धेरै पटक हेरिएको गीतमा राजराज सिवाकोटीकै शब्द, सङ्गीत र स्वरमा रहेको ‘सुर्के थैली’बोलको गीत रहेको थियो । उक्त गीतलाई युट्युबमा २ करोड १७ लाख ८६ हजार पटक हेरिएको छ । नेपालमा पहिलो पटक करोडको खाता खोल्ने गीतमा ‘सुर्के थैली’ पर्ने आउँछ । दुवै गीतका सर्जक राजनराज सिवाकोटी हुन् । चलचित्र ‘वडा नम्बर ६’मा समावेश भएको गीत २०७२ साल साउन २१ गते युट्युबमा अपलोड भएको थियो । ओपलोड गरिएको दुई वर्ष पछि ‘सुर्के थैली’ले २ करोड भ्यु पाएको हो । 

 


यस्तै ‘कुटुमा कुटु..’ले रिलिज भएको ४५ दिनमा नै करोड भ्यु पाएको थियो । उक्त गीतमा नायिका स्वस्तिमा खड्काको नृत्य रहेको छ भने ‘२ रुपैयाँ’का कलाकार निश्चल बस्नेत, आसिफ शाह र बुद्धि तामाङले स्वस्तिमालाई साथ दिएका छन् । भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । गीतको शब्दसंगीतको साथै यस गीतको नृत्यको पनि चर्चा उत्तिकै छ । ‘कुटुमा कुटु’मा राजनराज सिवाकोटीलाई साथ गायिका मेलिना राई र राजन इसानले साथ दिएका छन् ।