नाबालिग बलात्कार आरोपमा पुर्पक्ष थुनामा रहेका अभिनेता पल शाहले जिल्ला अदालत, तनहुँको आदेशविरुद्ध उच्च अदालत, पोखरामा पुनरावेदन निवेदन दिएका छन् । पलले जिल्ला अदालतको फैसलाविरुद्ध तारेखमा थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पोखरामा पुनरावेदन निवेदन दर्ता गराएका हुन् । शाहका कानुन व्यवसायी भानुभक्त सुवेदीले तनहुँ जिल्ला अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन गरेको आदेशविरुद्ध तारिखमा रिहाइ गरेर मुद्दा लड्न माग गर्दै उच्च अदालत पोखरामा पुनरावेदन गरिएको जानकारी दिएका हुन् l जबरजस्ती करणीको मुद्दामा थुनामा राखेर, साधारण तारिखमा रिहा गरेर वा धरौटीमा छाडेर अनुसन्धान गर्न अदालतले आदेश दिन सक्ने व्यवस्था छ । पल विरुद्ध फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा एक नाबालिगले जबरजस्ती करणीको मुद्दामा जाहेरी परेको थियो l अनुसन्धानकै क्रममा प्रहरीले पलका म्यानेजरलाई समेत पक्राउ गरेको थियो । म्यानेजर भने धरौटी तिरेर छुट्टी सकेका छन् l पल विरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले पहिलो पटक सात दिन र दोस्रो पटक १२ दिनको म्याद सकिनुका साथै थप् तेश्रो म्याद थपेको थियो l