चलचित्र सम्बन्धी अध्यापन गराउदै आएको ‘एभरेष्ट फिल्म एकेडेमी’ले यस वर्ष देखि ‘एभरेष्ट सिने अनर’ सुरु गरेको छ । आइतबार राजधानीमा एक समारोह आयोजना गर्दै एकेडेमीले एभरेष्ट सिने अनर’को औपचारिक सुरुवात गरेको हो । यसबर्षको सिने अनरको रूपमा ५ चलचित्रकर्मीलाइ सम्मान गरेको छ । जसमा चलचित्र ‘जात्रा’बाट निर्देशक प्रदिप भट्टराई, नायक विपिक कार्की, सम्पादकका रूपमा ‘लुट २’बाट सुरेन्द्र पौडेल, छायाँकनमा पुरुषोत्तम प्रधानलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा लाइभटाइम अचिभमेन्ट अवार्डमा बरिष्ट निर्देशक लक्ष्मीनाथ शर्मालाई सम्मान गरिएको छ । वर्षभरि प्रदर्शनमा आएका चलचित्र मध्येबाट उत्कृष्ट चलचित्र निर्देशक, कलाकार, सम्पादक र छायाकारलाई एभरेष्ट सिने अनरले हरेक वर्ष सम्मान गरिने आयोजकले बताए । चलचित्र क्षेत्रमा लगातार काम गरिरहने चलचित्रकर्मीलाई प्रोत्साहन गर्ने हेतुले ‘एभरेष्ट सिने अनर’को सुरुवात गरिएको एकेडेमीका प्रबन्ध निर्देशक विशाल श्रेष्ठ बताउछन् ।

करिब २ वर्ष अगाडी सुरुवात गरिएको एभरेष्ट फिल्म एकेडेमीले चलचित्र सम्बन्धी अध्ययन अध्यापन गर्दै आइरहेको छ । चलचित्रमा अनुभवको साथै अध्ययनको पनि महत्त्वपूर्ण भूमिका रहेको कारण त्यसलाई पुरा गर्ने एभरेष्ट फिल्म एकेडेमीले ठुलो भूमिका खेलेको एकेडेमी प्रमुखको साथै कलाकार सुनिल थापाले बताए ।