बक्स अफिस फिल्म अवार्डमा 'म यस्तो गीत गाउँछु २' बाट सर्वोत्कृष्ट नायक- नायिकाको अवार्ड हात पारे पछि नायिका पूजा शर्मा पललाई सम्झेर भावुक बनेकी छिन् l पललाई एकदमै सम्झेको बताउँदै उनले सामाजिक सञ्जालमा स्ट्याटस पोस्ट गरेकी हुन् l अवार्ड लिएको तस्बिर फेसबुकमा पोस्ट गर्दै पूजाले प्रसव पीडामा चिच्याएकी आमा सन्तान जन्माएपछि मुस्कुराएको जस्तै आफू मुस्कुराएको बताएकी छन् । पूजा लेख्छिन् :फागुण ११ गते चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रिमियरको दिन । एक्कासि घटेको ठुलो बज्रपातलाई सहँदै, अनेकथरी कुराहरू सुन्दै हलमा उपस्थित भइरहँदा मैले आँसु रोक्न सकेको थिइनँ । एउटा सन्तान जन्माउन आमाले गर्ने दुःख र पीडा जस्तै हो चलचित्र निर्माण गरेर हलसम्म ल्याउनु । आज काठमाडौँमा आयोजना भएको ‘बक्स अफिस फिल्म अवार्ड’मा उत्कृष्ट नायिकाको अवार्ड जित्दै गर्दा प्रसव पीडामा चिच्चाएकी एक आमा, सन्तान जन्माएपछि सबै पीडा भुलेर मुस्कुराएझैँ म पनि मुस्कुराएकी छु । हुनत, अझै पनि दिल खोलेर हाँस्नका लागि आउने सुखद दिनलाई पर्खिरहेकी छु । ‘म यस्तो गीत गाउँछु २’बाट उत्कृष्ट नायकको अवार्ड पल शाहले जित्दै गर्दा मेरो  प्यारो साथी र हाम्रो रियल हिरोलाई धेरै मिस गरिरहेँ । पल, तिम्रा लागि यो अवार्ड समर्पित गर्न चाहन्छौँ । उत्कृष्ट निर्देशकको अवार्ड जित्नुहुने मेरा गुरु सुदर्शन थापा, ब्लकबस्टर चलचित्रको अवार्ड प्राप्त गरेको हाम्रो चलचित्रलाई माया दिनुहुने दर्शक नै हाम्रा लागि सबै भन्दा प्रिय र विशेष हुनुहुनेछ । दर्शकको साथ पाएपछि अगाडि बढ्न कुनै पनि शक्तिले रोक्न सक्दैन भन्ने पुष्टि यस पटक भएको छ । अवार्ड आयोजकलाई कामको मूल्याङ्कनको लागि विशेष धन्यवाद । आगामी दिनमा म र मेरो टिमले अझै उत्कृष्ट चलचित्र दर्शकमाझ ल्याउने वाचा गर्दछौ । जय नेपाली सिनेमा ।