नायक आकाश श्रेष्ठको प्रेम सम्बन्ध यती बेला सिने क्षेत्रमा चर्चाको विषय बनेको छ l नायिका पूजा शर्माको सम्बन्धलाई नकारेका उनी अहिले करुणा श्रेष्ठको प्रेममा रहेको खबर बाहिरिएको छ l यसो त कलाकारहरू आफ्नो प्रेम सम्बन्ध सार्वजनिक नहोस् भन्ने चाहन्छन् l यदि सार्वजनिक भैहाल्यो र पत्रकारले कुरै कुरामा उक्त प्रश्न राखे भने पनि टिमुर्केर हिडि हाल्छन् l जवाफ दिइहाल्न पर्यो भने पनि फलामको चिउरा चपाए सरह गरी किर्ते जवाफ दिन्छन् 'हामी मिल्ने साथी मात्र हौ भनेर' l तर आकाशको मुखबाट त्यो किर्ते जवाफ पनि आएन l उनी त प्रश्न गर्दा गर्दै टिमुर्केर हिँडे l गत मङ्गलवार आकाश र पूजा शर्मा अभिनीत एक म्युजिक भिडियोको लागि राखिएको प्रेस मिटमा यस्तै द्र्श्य देख्न पाइयो l
पब्लिक फिगर आकाशलाई 'करुणा' शब्दले पोल्यो कि के गर्यो, उनी जुरुक्क उठेर हिँडिहाले अन्तरवार्ताको क्रममा l पत्रकारले ‘दया, माया र करुणा’ नराखी जवाफ दिनुहोला भनेपछि आकाश फन्फनिएका हुन् । यो अन्तरवार्ता बन्द गरौँ भन्दै आकाश उठेपछि पूजा पनि अक्क न बक्क बनिन् । 'करुणा' शब्दले आकाशलाई आफूले गरेको म्युजिक भिडियोको पत्रकार सम्मेलन छ भन्ने पनि बिर्साए छ l यसपछि, आकाश र पूजाको अन्तरवार्ता पर्खिरहेका अन्य पत्रकारहरूले अन्तरवार्ता नै गर्न पाएनन् । आकाशले अन्तरवार्ता नदिई हिँडेपछि पूजा एक्लैले अन्तरवार्ता दिन गाह्रै हुन्छ l तर लगानी गरेका निर्मातालाई समेत धोका दिएर एक्छिनमा आउँछु भनी हिँडेका आकाश मोबाइल स्विच अफ गरी बसे पछि उनलाई भोलिको दिनमा कुन चाही निर्माताले सहजै विश्वास गर्लान ? म को हुँ र म माथि नै किन निर्माताले लगानी गरी रहेका छन् भन्ने कुराको हेक्का नराखी हिँडेका नायकलाई अन्य निर्मातालाई आँखा चिम्लेर लगानी गर्न गाह्रै पर्ला l एक कलाकारले यस्ता प्रश्नहरूलाई सहजै टार्दिनु पर्ने ठाउँमा जुरुक्क उठेर हिँडी निर्माता र पुरै टिमलाईनै धोका दिनु भनेको त आफ्नै पेटमा जानी जानी लात्ती हाने सरह भएन र आकाश जी?